STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रियसभाको आठौँ अधिवेशन आजदेखि सुरु

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ १७, बिहिबार

संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको आठौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । मन्त्रिपरिषद्काे सिफारिसपछि राष्ट्रपति विद्या भण्डारीले आज अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी थिइन् । संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार कोभिड–१९ को सङ्क्रमणकैबीच आह्वान भएको अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ ।

उनले भने, 'स्वास्थ्य मापदण्ड पालना गरी बैठक बस्न सकियोस् भनी सभाहलको मर्मत सुधार गर्नेलगायत सबै काम पूरा भएको छ, उपकरणलाई पनि चुस्त बनाइएकाे छ ।' राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षता बस्ने कार्यव्यवस्था परामर्श समितिले यस बर्खे अधिवेशनको पहिलो दिन बैठकमा पेस हुने कार्यसूची तय गर्नेछ ।

यद्यपि, बैठकको प्रारम्भमा अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइने छ । अधिवेशन प्रारम्भ भएको अवसरमा सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले सफलताका लागि शुभकामना मन्तव्य राख्ने परम्परा छ । बैठकमा यसबीचमा जारी अध्यादेशसमेत पेस गरिने छ । प्रतिनिधिसभाविहीन अवस्थामा सुरु हुन लागेको अधिवेशनबाट विधेयक निष्कर्षमा पुग्ने अवस्था रहँदैन । प्रतिनिधिसभाको अभावमा मुलुकका समसामयिक र जनजीवीसँग जोडिएका मुद्दामा प्रतिपक्षीलाई गम्भीर बहस र छलफलका लागि मञ्च भने उपलब्ध हुनेछ ।

राष्ट्रपतिले समयसमयमा दुवै वा कुनै सदनको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । गत पुसमा प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयअघि प्रतिनिधिसभा र राष्ट्रियसभाका अधिवेशन एकै पटक आह्वान हुँदै आएको थियो । समाजका विभिन्न क्षेत्रमा ख्याति कमाएका प्रबुद्ध समूहको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रियसभाको सातौँ अधिवेशन गत १७ पुसमा सुरू भई २६ गते अन्त्य भएको थियाे ।

एउटा अधिवेशनको समाप्ति र अर्काे अधिवेशन प्रारम्भबीचको अवधि ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ । पछिल्लो पटक गत ८ जेठमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरिदिएपछि राष्ट्रियसभाको अधिवेशन बेग्लै आह्वान हुने अवस्था आएको हो ।

Categorized in राजनीति