राष्ट्रपतिसँगको माघे सङ्क्रान्तिमा रमाए बालबालिका
Janjati Khabar – जनजाति खबर | २०७६ माघ १, बुधबार
माघे सङ्क्रान्ति मकर सङ्क्रान्ति का अवसरमा आज राष्ट्रपति भवन शीतल निवासमा ‘बालबालिकासँग राष्ट्रपति’ नाम दिइएको कार्यक्रमका क्रममा सुनिएका यी संवादले अरु दिनमा भन्दा आजको शीतलनिवासको वातावरण फरक देखिएको थियो । राष्ट्रपति कार्यालयका कर्मचारीले बालबाबलिकालाई प्रश्न सोध्दै जवाफ लिँदै र बालबालिकाले नबुझेका वा उनीहरुले जान्न चाहेका कुराबारे अवगत गराउँदै थिए । कतिपय बालबालिका गुन्यू चोली र दौरा सुरुवालमा सजिएर आएका थिए भने कतिपय अनौपचारिक पोशाकमा शीतलनिवास पुगेका थिए ।
बालबालिकालाई राष्ट्रपति भण्डारीले प्रदूषण कम गराउने लक्ष्यका साथ प्रयोग गर्ने गर्नुभएको विद्युतीय गाडीबारे पनि विद्यार्थीलाई जानकारी दिइएको थियो । परिसर वरिपरिका बगैँचा, पाहुना कक्ष, सुरक्षा कक्षका साथै बाहिर जाने र भित्र जाने ढोकाका बारेमा पनि बालबालिकाले चासो दिएका थिए ।
‘बालबालिकासँग राष्ट्रपति’ कार्यक्रममा सहभागी नेपाल बाल सङ्गठनका छ वर्षभन्दा माथि उमेरका बालबालिकाहरुमध्ये कतिपय पहिला पनि शीतलनिवास पुगिसकेका थिए । पहिलाभन्दा अहिले नयाँ नयाँ भवन र सरसफाइ गरेर परिसरलाई चिटिक्क बनाइएको छ । अभिभावक र सहाराबिहीन बालबालिकालाई आश्रय दिँदै आएको बाल सङ्गठनका बालबालिकालाई यसअघि पनि शीतलनिवासमा बोलाइएको थियो । राष्ट्रपति भण्डारीको इच्छाअनुसार उनीहरुलाई समयसमयमा लुगाफाटो र मिठाइ दिने पनि गरिएको थियो ।
बाल सङ्गठनका गृह व्यवस्थापन शाखाका प्रमुख सविता लम्सालले राष्ट्रपतिको निमन्त्रणामा आज सिफल र नक्सालका छ वर्षमाथिका बालबालिकालाई शीतलनिवास ल्याइएको जनाउँदै यस्ता कार्यक्रमबाट उनीहरुले खुशी हुने बताउनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिका भविष्यका जिम्मेवार नागरिक भएकाले उनीहरुका लागि लगानी बढाउन सरकार र सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको थियो । उहाँले बालबालिकाको शिक्षा र स्वास्थ्यका साथै उनीहरुलाई असल नागरिक बनाउन लगानी बढाउन र हेरचाहमा कुनै कमीकमजोरी भए विशेष ध्यान दिन संसद् र सरकारले ध्यान दिने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपति भण्डारीले भन्नुभयो, “बालबालिकाको हितका लागि राष्ट्रको ध्यान खिचियोस् भनेर प्रकृति र संस्कृतिसँग जोडिएको माघी पर्वका अवसरमा भेटघाट कार्यक्रम राखिएको हो ।” उहाँले आफू एक दिन भए पनि बालबालिकासँग रमाउन र उनीहरुलाई अभिभावकत्व दिन पाउँदा खुशी भएको बताउनुभयो ।
विगतमा माघीका अवसरमा राजनीतिक दलका नेताहरुसँग भेटघाट तथा चियापान कार्यक्रम राखिने गरेकामा पछिल्लो दुई वर्षयता राष्ट्रपतिले आजको दिन बालबालिकासँग बिताउँदै आउनुभएको छ । बिदा भएर जाने बेलामा बालबालिकालाई बाल रचनामा आधारित बुँद राणाको ‘बुष्टकारी¬’ र रामबाबु सुवेदीको ‘भँगेरी’ बाल कविता सङ्ग्रह उपलब्ध गराइएको थियो ।
Categorized in राष्ट्रिय


