
रामजी भण्डारीलाई ‘त्रिमूर्ति सम्मान’
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ जेठ २१, बुधबार

नेपाली भाषासाहित्यका विभूतित्रय कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको बहुमुखी योगदानको स्मृति, सम्मान र अनुसन्धानको उद्देश्य ले स्थापित त्रिमूर्ति निकेतनको उद्यान, भवन, पुस्तकालय र सालिकको संरक्षणमा पुर्याएको विशिष्ट योगदानका लागि काठमाडौं महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष रामजी भण्डारीलाई ‘त्रिमूर्ति सम्मान’ प्रदान गर्ने भएको छ ।
त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा मङ्गलबार बसेको निकेतनको बैठकले सो निर्णय गरेको कुरा त्रिमूर्ति निकेतन का सदस्य सचिव नरेन्द्रराज प्रसाईले बताउनु भएको छ ।
बि सं २०८२ माघ २६ गते अठारौँ त्रिमूर्ति दिवस समारोहका अवसरमा भण्डारीलाई ‘त्रिमूर्ति सम्मान’ प्रदान गरिने कार्यक्रम रहेकोछ ।
सोही अवसरमा श्री रामबाबु सुवेदीलाई ‘लेखनाथ काव्य पुरस्कार’, प्रा.डा.सावित्री कक्षपतीलाई ‘बालकृष्ण सम पुरस्कार’ र प्रा.डा.बेञ्जु शर्मालाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिने भएको छ । ताम्रपत्रका साथै यी तीन वटा पुरस्कारका राशि चाहिँ जनही एकएक लाख रूपियाँ रहेका छन् ।
Categorized in साहित्य-कला