STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रातो मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माणका लागि ललितपुरले छुट्यायो एक करोड बजेट

Janjati Khabar – Janjati Khabar | २०८० माघ ९, मंगलबार

ललितपुर- ललितपुर महानगरपालिकाले बुङ्मतीमा रहेको रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सो मन्दिर पुनर्निर्माणको बाँकी कामको नेतृत्व गर्दै महानगरपालिकाले यथाशीघ्र काम सम्पन्न गर्न एक करोड रुपैयाँ बजेट विनियोजन गरेको हो । 

महानगरपालिकाको आइतबार सम्पन्न हिउँदे नगरसभाले पुनर्निर्माणको बाँकी काम सम्पन्न गर्ने भन्दै एक करोड रुपैयाँ बजेट विनियोजन गरेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए ।

महानगरको वडा नं. २२ मा अवस्थित रातो मछिन्द्रनाथको मन्दिर २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको थियो । मन्दिर पुननिर्माण कार्य पुरातत्व विभागको अगुवाइमा भइरहेको थियो । उपभोक्ता समितिले म्याद थपका लागि पुरातत्व विभागमा पत्राचार गरेको भएपनि लामो समय भइसक्दा समेत म्याद थप भएको छैन ।

सांस्कृतिक धरोहरको रुपमा रहेको पुरातात्विक महत्वको मन्दिरलाई त्यत्तिकै अलपत्र छोड्न नहुने ठहर गर्दै महानगरपालिकाले बाँकी काम सम्पन्न गर्ने निर्णय गरेको मेयर चिरीबाबु महर्जनले बताए ।

केही दिन अघि मन्दिर पुनर्निर्माणका क्रममा भएको खर्च सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा पुरातत्व विभागकी सविता न्यौपानेले पुरातत्व विभागले पछिल्लो समय कानुन अभावमा उपभोक्ता समितिको म्याद थप सम्बन्धी निर्णय गर्न नसकेको बताएकी थिइन् ।

२०७२ माघ २ गते मन्दिर पुनर्निर्माणका लागि श्रीलंका सरकारबाट सहयोग प्राप्त भएको थियो । मन्दिर पुनर्निर्माणका लागि टेन्डर स्वीकृत भई मन्दिर पुनर्निर्माण कार्य सुरु भएको थियो । तर ठेकेदार कम्पनी बीचैमा काम छोडेर हिँडेपछि २०७७ असार १५ गते श्री रातो मच्छिन्द्रनाथ मन्दिर पुननिर्माण उपभोक्ता समिति र पुरातत्व विभागबीच सम्झौता भएअनुसार पुनर्निर्माणको काम अघि बढेको थियो । तर पछिल्लो समय उपभोक्ता समितिले समेत समयमा काम पूरा गर्न नसकेपछि म्याद थपको विषयले समस्या उत्पन्न भएको थियो ।

अहिलेसम्म मन्दिर पुनर्निर्माणको करिब ७७ प्रतिशत काम सम्पन्न गरेको छ ।

Categorized in उपत्यका