STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रक्तदान गर्न प्रेरित गर्दै साइकलयात्रा

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १७, आइतबार

पोखरा महानगरपालिका–८ न्यूरोड निवासी जितेन्द्रमान शाक्य उमेरले ४९ वर्ष पुग्नुभयो । उहाँले हालसम्म ६५ पटक रक्तदान गरिसक्नुभएको छ । पोखरामा आयोजना हुने रक्तदान कार्यक्रममा रक्तदान गर्दै आउनुभएका उहाँले रगतको अभावमा कोही कसैले अकालमा ज्यान गुमाउन नपरोस् भनेर जनचेतना जगाउँदै आउनुभएको छ । रगत दान गरेपछि मान्छे कमजोर हुन्छ भन्ने भ्रम अझै पनि समाजमा कायमै छ । कसैलाई रगतको अभाव भएको खण्डमा हत्तपत्त मानिस रगत दिन अगाडि सर्दैनन् । त्यही भ्रमलाई चिर्दै रक्तदानको प्रेरणा जगाउन शाक्यले हरेक पटक रक्तदान गरेपछि एक सय किलोमिटर साइकल यात्रा गर्दै आउनुभएको छ । शनिबार रेडियो अन्नपूर्णले पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ६५औँ पटक रक्तदान गरेपछि दमौलीसम्मको साइकलयात्रामा निस्कनुभएका उहाँले रक्तदान गरिसकेपछि मानिस कमजोर हुन्छ भन्ने मानसिकता हटाउन साइकलयात्रा गरेको बताउनुभयो । दमौलीमा रासससँगको कुराकानीमा उहाँले भन्नुभयो, “हरेक पटक रक्तदान गरिसकेपछि एक सय किलोमिटरको साइकलयात्रा गर्ने गरेको छु । यसको मुख्य उद्देश्य रक्तदानले मानिस कमजोर हुन्छ भन्ने भ्रम चिर्नु हो ।” लायन्स क्लब अफ पोखरा मुनालका अध्यक्ष एवं साइकल सिटी पोखराका निवर्तमान अध्यक्षसमेत रहनुभएका उहाँले रक्तदानले मानिसलाई थप स्वस्थ बनाउन सहयोग पुग्ने बताउनुभयो । पोखरादेखि दमौलीसम्मको ४९ किमी यात्रा उहाँले साइकलमा करीब दुई घण्टाको अवधिमा पूरा गर्नुभयो । त्यस्तै दमौलीदेखि पोखरासम्म फर्कदा तीन घण्टा १५ मिनेट लाग्यो । नेपाल रक्तदाता स्वयंसेवी समाजमा आबद्ध रहनुभएको उहाँले रगतको अभाव हुँदा बिरामीलाई रगतको व्यवस्था मिलाउने सहजीकरणसमेत गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “पोखरामा कसैलाई रगत चाहिएको खण्डमा मलाई सम्पर्क गर्दै आउनुभएको छ । मैले त्यस्ता व्यक्तिलाई रगतको प्रबन्ध मिलाइदिनेसमेत गरेको छु ।”  
Categorized in राष्ट्रिय