STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

योमरी पूर्णिमा एवं ज्यापु दिवस मनाइँदै

Janjati Khabar – Janjati Khabar | २०७७ पौष १५, बुधबार

काठमाडौँ - मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा, नेेवार समुदायले याेमरि पूर्णिमा र ज्यापु समुदायले ज्यापु दिवस मनाउँदैछ ।

योमरी पूर्णिमा (योमरी पुन्हि)

नयाँ धान भित्र्याएको खुशियालीमा नेवार समुदायले आज योमरी पूर्णिमा हर्षोल्लासका साथ मनाउँदैछन् । योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ ।

योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ र घरमा लिपपोत गरी योमरी पकाउने प्रचलन  छ । यो पर्वलाई नेवार समुदायले पनि नवअन्नप्राशनका रुपमा समेत मनाउने गरेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वँगः बताउनुहुन्छ । योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिलसमेत राखेर डल्लो बनाइन्छ ।

नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । गर्भवती भएका चेलीबेटीलाई गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुन भनेर उपहार पठाउने चलन पनि छ ।

ज्यापु दिवस

यसैगरी आजकै दिन ज्यापु समुदायले १७ अाैं ज्यापु दिवस मनाउँदैछ । ज्यापु दिवसकै अवसरमा अाज एक विशेष कार्यक्रममा ज्यापु समुदायका विभिन्न क्षेत्रमा व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम रहेकाे छ । यसअघि काठमाडौंका विभिन्न भागमा सांस्कृतिक र्‌याली निकालिने जनाइएकाे छ ।

मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ । 

कतिपय समुदायले भने आजै कूल परम्पराअनुसार दिवाली वा कुलदेवताको पूजा आराधना गरी धान्य पूर्णिमा पर्व मनाउँछन् । यसअघि नवअन्नप्राशन नगरेकाले आजै नवान्नप्राशन गर्नुपर्ने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । आजको दिन यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, चम्पादेवीलगायत स्थानमा मेलासमेत लाग्दछ । 

Categorized in उपत्यका