STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

योमरीः पाञ्चाल देश (पनौती) बाट प्रचलन भएको विश्वास

Janjati Khabar – Janjati Khabar | २०८१ मङ्सिर ३०, आइतबार

राजकुमार पराजुली

काभ्रेपलाञ्चोक, आज योमरी पूर्णिमा थिंला पुन्हि हो । यो पर्व विशेषतः नेवार समुदायमा प्रख्यात छ । वर्षभरिको १२ पूर्णिमामध्ये मङ्सिर महिना अर्थात् मार्गशुक्ल पूर्णिमालाई योमरी पुन्हि अर्थात् धान्य पूर्णिमा भन्ने गरिन्छ । 

हजारौँ वर्ष पहिला ‘पाञ्चाल देश’ भन्ने एउटा ठाउँ थियो, जसलाई अहिले काभ्रेपलाञ्चोकको पनौती भनिन्छ । लिच्छविकालीन ग्रन्थअनुसार ‘महासत्व’ नाम गरेका एकजना राजकुमारले जङ्गलमा भोकाएका बघिनी र केही डमरू देखेपछि आफ्नै शरीरको मासु खुवाएका थिए । 

राजकुमार महासत्वका कङ्काल र लुगा पुरेर उक्त स्थानमा एउटा चैत्य निर्माण गरिएको विश्वास रहँदै आएको स्थानीय राजाराम कर्माचार्यले बताउनुभयो । उक्त स्थानलाई अहिले ‘नमोबुद्ध’ भनिन्छ । ‘पाञ्चाल देश’ अर्थात् पनौतीमा महासत्वको जन्म भएको मान्दै प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन यहाँ नमोबुद्धको जात्रा पनि लाग्ने उहाँले जानकारी दिनुभयो । 

लिच्छविकालीन ग्रन्थमा समेटिएको घटनाक्रमअनुसार योमरी पूर्णिमा ९थिंला पुन्हि०को प्रचलन पनौतीबाट सुरूवात भएको मान्दै आइएको स्थानीय वृद्धाहरू बताउँछन् । तत्कालीन बेलाको पाञ्चालदेशको महासत्व राजकुमार र सुचन्द्र नाम गरेका महाजनको योमरीको प्रचलन पनौतीबाट भएको पुष्टी गर्ने स्थानीय कर्माचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “पाञ्चालदेशको महासत्व राजकुमार र सुचन्द्र नाम गरेका महाजनको कथाले योमरीको सुरूवात पनौतीबाट भएको विश्वास गर्दै आएको हौँ ।” 

कर्माचार्यका अनुसार पनौतीको इतिहासका आधारमा नेपालका अन्य स्थानका विशेष गरी नेवारी समुदायले योमरी पूर्णिमा धुमधमका साथ मनाउँदै आएका हुन् । अहिले यो पर्वले सबै समुदायलाई मोहित बनाउँदै लगेको पाइन्छ । महासत्वलाई गौतम बुद्धको पूर्वजन्म पनि मानिँदै आइएको छ । 

“ग्रन्थअनुसार तत्कालीन पाञ्चाल देशमा एक सुचन्द्र नाम गरेका महाजन थिए । धर्मात्मा सुचन्द्रले आफ्नो दयालु श्रीमतीसँग जीवन गुजारा गरिरहँदा सन्तान अभावको पीरमा भगवान विष्णुको प्रार्थना गर्थे । मार्गशुक्ल पूर्णिमाको दिन सुचन्द्र दम्पतीले सरसफाइको काम सकेर रोटी ९योमरी० पकाउन लाग्दा भगवान कुबेरले भेष बदलेर गरिब ब्राह्मणको रूपमा उनीहरूका घर आएर भिक्षा माग्न थाल्नुभयो । सुचन्द्रकी श्रीमतीले गरिब बुढो ब्राह्मण पिँढीमा बसेर भिक्षा माग्दै गरेको देखेर घरभित्रै लगी पुराना झुत्रो लुगा फेरिदिइन् । अन्यत्र जान हतारिएका ब्राह्मणलाई बस्न अनुरोध गर्दै तातोतातो रोटी ९योमरी० खान दिएपछि कुबेर प्रसन्न भई आफ्नो असली रूपमा देखाएर साक्षात् भगवान कुबेर अन्तध्यान हुनुभएको विश्वासका साथ यो पर्व मनाउने प्रचलन बनेको हो”, स्थानीय साहित्यकार सूर्यप्रसाद लाकोजूले भन्नुभयो । 

कुबेर उनीहरूको घर आएको दिन मङ्सिर शुक्ल पूर्णिमा थियो । कुबेरले धानको भकारीमा लक्ष्मी, कुमार, गणेश र आफ्नै प्रतिरूप राखी योमरीका साथ विधिपूर्वक पूजा गर्न अनुरोध गरेपछि सोही पूजाको प्रभावले दुई दम्पती सुखपूर्वक रहँदै आएका जनविश्वास रहेको उहाँको धनाइ छ ।

सोही बेलादेखि नेवार समुदायमा घरघरमा योमरी पकाई खाने चलनको थालनी भएको मानिन्छ । तिहारमा देउसीभैलो खेलेझैँ यस दिन साँझ टोलटोलका घरघरमा गएर युवायुुवतीले गीत गाउँदै योमरी तथा धान, चामल, दामलगायत माग्ने त्यःछिं त्यः बकछिं त्यः खेल्ने मल्लकालीन प्रचलन चल्ने गरेको पाइन्छ । योमरी माग्ने क्रममा घरघरमा गएर यस्तो गीत गाउने प्रचलन छ । 

‘ट्यो सिं ट्यो, बकसिं ट्यो

लटापाटा कुलिचाँ जुसिंट्या ।

ब्यु मह ल्यासे, म्ह ब्यु म्ह बूढीकुटी चा 

छिमनचुकी जिमनचुकी, बिगोसा याकन्ब्युँ ।।

अर्थात् 

‘जुनसुकै भाँडाबाट भए पनि झिकेर देऊ

माना–पाथी जेबाट जति दिए पनि देऊ ।

दिने मान्छे राम्रो, नदिने मान्छे नराम्रो ।

तिम्रो पनि जाडो, हाम्रो पनि जाडो

दिने भए छिटो देऊ’ ।।।

यही दिन पनौतीको धनेश्वर महादेवमा ठूलो मेला लाग्ने भएकाले मेला भर्न टाढाटाढाबाट भक्तजन आउने गर्दछन् । लिच्छविकालीन ग्रन्थमा उल्लेखित सुचन्द्र महाजनको कथा अंशुबर्मा पालाको बौद्धग्रन्थ ‘रत्नबदाने बुद्ध वचन’मा पनौतीमा सुचन्द्र महाजन दम्पतीको बसोबास भएको उल्लेख गरिएको पाइन्छ । 

कथाका जानकार स्थानीय पूर्णभक्त कोङ्गाका अनुसार योमरीको विषयमा पनौतीबाहेक कुनै ग्रन्थ तथा ऐतिहासिक दस्ताबेजमा पाइँदैन । पनौतीबाट सुरूवात भएको भन्नेबारे पुस्तौँदेखिका स्थानीय वृद्धाहरूले भन्दै आएकाले यमा सत्यता रहेको उहाँले बताउनुभयो ।

योमरीको प्रचलनबारे बुझ्न चाहने जोकोहीले कोङ्गालाई भेटेपछि विश्वस्त भएका उदाहरणहरू भेटिन्छन् । स्थानीय साहित्यकार लाकोजूले योमरीसँग जोडेर पनौतीको कथा प्रकाशित गर्नुभएको छ । उहाँको कथामा योमरीको बारेमा पाञ्चाल देशसँग जोडेर यसको सुरूवात र प्रचलन विस्तारबारे विस्तृतमा उल्लेख गर्नुभएको छ । 

लाकोजूले पनौतीबाट जन्मेको योमरी पर्व हाल विस्तार भएर नेपालका कुनाकाप्चासम्म पुगिसकेको बताउनुभयो । “यो पनौतीको महत्वपूर्ण पर्वमध्ये एक हो, चाडपर्वको क्षेत्रमा यो पर्वको विशिष्ट स्थान छ”, उहाँले भन्नुभयो ।

‘यमरी’ नेपाल भाषाको शब्द हो । ‘य’ को अर्थ मनपर्ने र ‘मरी’को अर्थ रोटी हो । यसरी ‘यःमरी’ लाई अथ्र्याउँदा यसको शाब्दिक अर्थ ‘मनपर्ने रोटी’ अर्थात् योमरी भएको साहित्यकार लाकोजूले बताउनुभयो ।

प्रायः चाकु र तील हालेर बनाइने यो रोटी विशेष किसिमको माटोको भाँडा ‘पोटासी’मा बफाएर पकाउने गरिन्छ । पछिल्ला केही वर्षदेखि खुवा तथा अन्य मनपर्ने परिकार हालेर योमरी बनाउने प्रचलन बढ्दै गएको छ । लाकोजूका अनुसार दुईदेखि १२ वर्षसम्मका बालबालिकाको जोरवर्ष परेको जन्मदिनमा ९दुई, चार, छ, आठ, १०, १२० बालकको वर्षअनुसारको यमरी राखी माला बनाएर जन्मदिनमा लगाइदिने प्रचलन छ  । बाह्रवर्ष नाघेपछि भने योमरीको माला नलगाई जन्मदिन मनाउने चलन रहेको उहाँले बताउनुभयो ।

गर्भवतीलाई बच्चा जन्मनुभन्दा पहिले माइतीका तर्फबाट योमरीसहित विभिन्न परिकारको भोज खुवाउने चलन हालसम्म पनि रहेको लाकोजूले उल्लेख गर्नुभयो । नेवार समुदायमा बुढाबुढीको जड्को ९भीमरथारोहण० गर्दा पनि योमरी चाहिन्छ । उपत्यकाको रातो मच्छेन्द्रनाथ र सेतो मच्छेन्द्रनाथको रथ तान्नुअघि योमरी छर्ने प्रचलन रहेको भन्दै नेपाली संस्कृति र संस्कारमा यसको ठूलो महत्वपूर्ण स्थान रहेको उहाँले बताउनुभयो ।

यस दिनमा पनैतीको काठगणेशमा धुमधामसँग जात्रा लाग्ने गर्दछ । पूजाआजासहित खटमा राखिएका गणेशलाई नगर परिक्रमा गरिइँने यो जात्राको पनि विशेष महत्व छ । स्थानीयले बिहान योमरी पकाएर खानुअघि नगरभित्रका देवीदेवताको पूजा गर्न जाने चलन छ । बेलुका शुद्ध गरी छुट्याएर राखेको योमरीका साथ कुमार, गणेश, कुवेर र लक्ष्मीको चार दिनसम्म पूजा र भक्तिपूर्वक अर्चना गरी प्रसाद फिकिन्छ र प्रसादका रूपमा बाँड्ने प्रचलन छ ।

डा चन्द्रा बज्राचार्यका अनुसार विशेष गरी नेवार समुदायले आफ्नै प्रकारको रोटी अर्थात् योमरी पकाई खाने गर्दछन् । त्यही विशेष रोटीको नाउँमा उक्त पूर्णिमाको नाम ‘योमरी पुन्हि’ रहन गएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यो पूर्णिमा थिंला पुन्हि, मार्ग पूर्णिमा, योमरी पुन्हि, धान्य पूर्णिमा, गैँडु पूर्णिमालगायत नामबाट प्रचलित छ । दसँैंमा पहिले जमरा छरेर उखेली सकेपछि मात्र धान काट्ने काम सुरू गर्ने र योमरी पुन्हिसम्ममा धान भित्र्याई सक्नुपर्छ भत्रे धारणा रहँदै आएको उहाँले बताउनुभयो । रासस

 

Categorized in राष्ट्रिय