नेपाली चलचित्र Elephants In The Fog कान्समा प्रिमियर
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ जेठ ७, बिहिबार
यतिबेला फ्रान्समा विश्व प्रसिद्ध कान्स फिल्म फेस्टिभल भइरहेको छ । ७९औँ संस्करणको उक्त फेस्टिभलमा निर्देशक अविनाश विक्रम शाहको फिल्म ‘एलिफेन्ट्स इन द फग’ को प्रिमियर भएको छ । त्यसअघि उक्त फिल्मका कलाकारहरु र निर्माण टिमले कान्समा आयोजित फोटो सेसन कार्यक्रमा सहभागी जनाउनु भएको थियो । ।
चलचित्र ‘एलिफेन्ट्स इन द फग’ फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधातर्फबाट छानिएको हो। यो फेस्टिभलको मुख्य प्रतिस्पर्धापछि प्रमुख मानिने विधामा पर्छ। यो विधामा नेपालबाट छनोट हुने पहिलो फिल्म समेत हो यो । ‘अन सर्टेन रिगार्ड’ ले युवा निर्देशक र फरक कथा वाचकहरूलाई समेट्ने गर्दछ ।
अविनाश निर्देशित यो फिल्म निर्माण अगावै यसको स्कृप्टले विश्वका बिभिन्न फेस्टिभलहरुबाट पुरस्कारहरु जितिसकेको छ । निर्माण सुरु नहुँदै यो फिल्म यसअघि भेनिसको स्कृप्ट मार्केट र सनडान्सको स्क्रिप्ट ल्याबमा छनोट भइसकेको थियो । यता ‘सरफन्ड’ अर्थात् नर्वेजियन साउथ फिल्म फन्डबाट सन् २०२४ मा ६ लाख नर्वेजियन क्रोनर ( झण्डै ७६ लाख रुपैयाँ ) को सरफन्ड ग्रान्ट जितेको थियो ।
फिल्ममा आकांक्षा कार्की, पुष्पा थिङ, दीपिका यादव, जस्मिन विश्वकर्मा, शान्ति गिरी, गौरी मल्ल, माओत्से गुरुङ, सञ्जय गुप्ता दुरा, महिमा नवबाग लगायत कलाकारले अभिनय गर्नुभएको छ । फिल्म अण्डरग्राउन्ड टकिज नेपाल र जयन्ती क्रियसन्सको सहकार्यमा निर्माण भएको हो।
यसअघि सन् २०२२ को कान्समा अभिनाशकै लघु फिल्म ‘लोरी’ छनोट भएको थियो । जसले कान्सको ७५ औं संस्करणमा स्पेसल मेन्सन अवार्ड जितेको थियो।
Categorized in सिनेमा

