STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

युरोकप २०२० : फ्रान्स, जर्मनी र पोर्चुगल नकआउट चरणमा

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ १०, बिहिबार

‘ग्रुप अफ डेथ’ भनिएको युरोकप २०२० को समूह ‘एफ’ अन्तर्गत बुधबार राति भएको जर्मनी र हंगेरीबीचको खेल बराबरीमा सकिएको छ । सुरुआति अग्रता बनाएको हंगेरीले जर्मनीविरुद्ध २-२ गोलको बराबरी खेल खेलेको हो ।

खेलको सुरुआती ११औँ मिनेटमा नै अदम स्जलाईले हंगेरीका लागि पहिलो गोल गरेका थिए ।

दोस्रो हाफको ६६औँ मिनेटमा काई हाबेर्टजले गोल गर्दै जर्मनीलाई बराबरीमा ल्याएका थिए । तर, २ मिनेट भित्रै हंगेरीका आन्द्रस सचफेरले गोल गर्दै खेलमा पुन: २-१को अग्रता बनाए ।

तर, खेलको ८४औँ मिनेटमा जर्मनीका लिवन गोरेट्ज्काले बराबरी गोल फर्काएका थिए ।

खेल बराबरी बनेपछि दुवै टिमले १-१ अंक बाँडेका छन् । फ्रान्ससँग हारेको जर्मनीले पोर्चुगलविरुद्ध सानदार जित निकालेको थियो । जर्मनीले ३ खेलबाट जम्मा ४ अंक पाएको छ । योसँगै जर्मनी समूहको उपविजेता बन्दै सिधा नकआउटमा प्रवेश गरेको छ ।

यता पोर्चुगलसँग हारेको हंगेरीले फ्रान्ससँग बराबरी खेलेको थियो । ३ खेलबाट २ अंक पाएको हंगेरी भने समूह चरणबाट नै बाहिरिएको छ ।

बुधबार नै भएको फ्रान्स र पोर्चुगलको खेल पनि बराबरीमा सकिएको छ ।

पोर्चुगलका लागि दुवै गोल कप्तान क्रिस्टियानो रोनाल्डोले गरेका थिए । रोनाल्डोले दुवै गोल पेनाल्टीमार्फत गरेका हुन् ।

फ्रान्सका गोलकिपर हुगो लोरिसले डीबक्सभित्र डानिलो पेरेराविरुद्ध फल गरेपछि पोर्चुगलले खेलको ३०औँ मिनेटमा पेनाल्टीको अवसर पाएको थियो । उक्त अवसरलाई गोल गर्दै रोनाल्डोले टिमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको अतिरिक्त समयमा फ्रान्सले पनि पेनाल्टीको अवसर पायो । पोर्चुगलको डीबक्सभित्र केलियन एम्बापेमाथि फल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो । सो अवसरलाई सदुपयोग गर्दै करिम बेन्जेमा खेललाई १-१ को स्थितिमा पुर्‍याए ।

बेज्जेमाले दोस्रो हाफको ४७ औँ मिनेटमा फ्रान्सका लागि दोस्रो गोल गर्दै खेलमा २-१ को अग्रता बनाएका थिए । तर, खेलको ६० औँ मिनेटमा फ्रान्सका खेलाडीले डीबक्सभित्र हेन्ड गरेपछि पोर्चुगलले दोस्रो पेनाल्टीको मौका पाएको थियो । उक्त अवसरलाई पनि सदुपयोग गर्दै रोनाल्डोले खेललाई २-२ को नतिजा दिएका थिए ।

खेल बराबरीमा सकिएसँगै दुवै टिमले १-१ अंक बाढेका छन् ।

Categorized in खेलकुद