STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

युगान्डामा फैलिएको इबोलाप्रति डब्लुएचओको आकस्मिक बैठक

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ३१, शुक्रबार

अफ्रिकी मुलुकहरु कङ्गो र युगान्डामा प्राणघातक रोग इबोलाका बिरामी देखिएपछि विश्व स्वास्थ्य संगठन डब्लुएचओ को शुक्रबार आपतकालीन बैठक बस्दैछ । बैठकले इबोलाको महामारीलाई अन्तर्राष्ट्रिय खतराका रुपमा घोषणा गर्ने या नगर्ने भन्ने निर्णय गर्नेछ । सन् २००५ मा गठन भएको संगठनको आपतकालीन समूहको बैठक यसअघि चार पटक बसेको छ । यसअघि सन् २००९ मा महामारीको रुप धारण गरेको एच१एन१ अर्थात् स्वाइनफ्लु, सन् २०१४ को पोलियो भाइरसको फैलावट, सन् २०१४ देखि २०१६ को अवधिमा पश्चिम अफ्रिकामा महामारीका रुपमा फैलिएको इबोला तथा सन् २०१६ मा जिका भाइरस फैलिएको समयमा यस समूहको आपतकालीन बैठक बसेको थियो । गत अगष्टमा पूर्वी कंगोबाट शुरु भएको इबोलाबाट दुई हजार मानिस प्रभावित भइसकेका र त्यसमध्ये दुई तिहाईमा प्राणघातक अवस्था देखिएको छ । कंगोमा देखिएको यस इबोला संकटका विषयमा विश्व स्वास्थ्य संगठनले प्रत्यक्ष निगरानी गरिरहेको छ । तर गत अक्टोबर र अप्रिल बैठकमा इबोला संक्रमण कंगोमा मात्र सीमित देखिएको भन्दै अन्तर्राष्ट्रिय खतराका रुपमा लिइएको थिएन । तर कंगो सहित युगान्डामा समेत इबोलाका बिरामी देखिएकाले अन्तर्राष्ट्रिय चेतावनी नै सार्वजनिक गर्नुपर्ने अवस्था सिर्जना भएको डब्लुएचओको भनाई छ । इबोलाबाट युगान्डामा दुई जनाको यसअघि नै मृत्यु भइसकेको छ । इबोला भएका व्यक्तिले अर्को व्यक्तिलाई छोएमा इबोलाको भाइरस संक्रमण हुने गर्दछ । इबोला संक्रमित बिरामीमा अति उच्च ज्वरो आउने र समयमै उपचार नपाए त्यस्ता बिरामीको मृत्यु पनि हुने गर्दछ ।
Categorized in अन्तर्राष्ट्रिय