relans
ni new 83
nib 2082 5

यार्सागुम्बा र नगदसहित तस्कर पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ३, शुक्रबार

हिमाली जिल्ला डोल्पाको ढाढाचौर यार्सापाटनबाट अवैध रुपमा छिरेका २० जना यार्सागुम्बा तस्कर पक्राउ परेका छन् । सुम्दो चेकपोष्टबाट खटिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका कर्मचारी र नेपाली सेनाको संयुक्त गस्ती टोलीले ढाढाचौर यार्सापाटनबाट १६ पुरुष र चार महिलासहित २० जनाको समूहलाई पक्राउ गरेको निकुञ्जका निमित्त संरक्षण अधिकृत प्रमोदकुमार यादवले जानकारी दिनुभयो । पक्राउ पर्ने सबै जुम्ला जिल्लाका भएको निकुञ्जले जनाएको छ । पक्राउ पर्नेमा गोठीचौर गाउँपालिका–१ का जुनबहादुर महतारा, कविता महतारा, सिर्जना ऐडी र सुशीला बस्नेत तथा वडा नं १ २ का सूर्य बोहोरा, बलीबहादुर बोहोरा, एकराज बुढा, मुनवीर बुढा, खुम बोहोरा, मानबहादुर ऐडी, खड्क बोहोरा, कमल बुढा, दलबहादुर थापा, सुशीलादेवी बुढा र कर्ण बुढा रहेका छन् । त्यस्तै तातोपानी गाउँपालिका–८ बस्ने कालीबहादुर थापा, तप्तबहादुर थापा, जनक थापा र निशान थापा तथा पातारासी गाउँपालिका–५ का गोर्ख बुढालाई पनि गस्ती टोलीले पक्राउ गरेको छ । उनीहरुबाट १५० ओटा यार्सागुम्बा, नगद रु दुई लाख ८१ हजार, कुटो १८, हँसिया एक थान र मोबाइललगायत सामानहरु बरामद गरिएको निमित्त संरक्षण अधिकृत यादवले जानकारी दिनुभयो । उनीहरु यार्सापाटन खुला गर्ने समय अगावै अवैध रुपमा चोरी–तस्करी गर्ने उद्देश्यले पाटनमा छिरेको पाइएकाले उनीहरुलाई पक्राउ गरिएको निकुञ्जले जानकारी दिएको छ । जिल्लास्थित सरोकारवाला निकायको बैठकले यही जेठ १३ मा मात्रै डोल्पाका सम्पूर्ण यार्सा पाटन खोल्ने निर्णय गरेकाले पाटन खुल्नु अगावै चोरी शिकारी गर्ने उद्देश्यले पाटन छिर्ने जो कोहीलाई पक्राउ गरेर कारवाही गरिने निकुञ्जको भनाइ छ । वैशाखदेखि हालसम्म नेपाली सेना र निकुञ्जको टोलीले विभिन्न यार्सा पाटनबाट ५२ जना यार्सागुम्बा तस्कर पक्राउ गरिसकेको निकुञ्जले जनाएको छ । यसअघि पनि नेपाली सेनाको गस्ती टोलीले निकुञ्ज क्षेत्रमा पर्ने फेरीगाउँबाट कस्तुरीको छाला र १० वटा पासो बेवारिसे अवस्थामा फेला पारेर निकुञ्जलाई बुझाएको थियो । यार्सागुम्बा सङ्कलन गर्ने समय नजिकिँदै गएकाले निकुञ्ज क्षेत्रभित्रका यार्सा पाटनमा चोरी शिकारी बढ्नसक्ने भन्दै सेना र निकुञ्जका कर्मचारीको संयुक्त गस्ती टोली विभिन्न नाका र यार्सा पाटनमा खटिएको छ ।
Categorized in अपराध-दुर्घटना
ppp 2