STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

यसवर्ष बिस्केटको रथ दिउँसो तान्ने

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २२, शुक्रबार

आगामी २७ गतेबाट भक्तपुरबाट शुरु भई नौ दिनसम्म मनाइने भक्तपुरको प्रसिद्ध बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरोकारवाला सहमत भएका छन् । हरेक वर्ष ढुङ्गा हानाहान हुने र ज्यानसम्म जाने गरी जात्रा सञ्चालन हुँदा प्रसिद्ध जात्राको नकारात्मक सन्देश गएको भन्दै यसवर्ष जात्रालाई शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न गर्न भक्तपुर नगरपालिकाले कार्यदल समेत गठन गरेको छ । भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले जात्रालाई शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न गर्न कार्यदल गठन गरेको बताउँदै यसवर्ष रथ दिउँसो तान्ने गरी व्यवस्था मिलाएको बताउनुभयो । गुठी संस्थानले दिने सेवा सुविधा कम भएको र गुठीको पूजा ढिलो आउने गरेको भन्दै जात्रा सञ्चालन गर्ने नाइके एवं पूजारीले मुख्य पूजा ढिलो सञ्चालन गर्दा भैरवको रथ तान्न रातपर्ने र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुने गरेको छ । यसवर्ष यो समस्यालाई समाधान गर्दै दिउँसो २ बजे नै रथ तान्ने व्यवस्था मिलाएको नगरपालिकाको भनाइ छ । जात्रा सञ्चालन गर्ने दिन २७ गते बिहान ७ बजे भक्तपुर नगरपालिका क्षेत्र परिक्रमा गर्ने गरी प्रचारप्रसार सहितको सद्भाव ¥याली तथा जनचेतनासभा आयोजना गरिने भएको छ । जात्राको अवधिमा रथ तानिने मूल सडक, जात्रा हुने स्थान र चोकमा राखिएका भूकम्पले भत्काएका घरका भग्नावशेष एवं निर्माण सामग्री र अन्य सामग्री २५ गतेभित्र हटाइसक्ने भएको छ । जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जात्राको पहिलो दिन २७ गते र अन्तिम वैशाख ५ गते तौमढीबाट भैरवनाथको रथ तानेर पूर्वमा बुलबुल हिटी, सुकुलढोकासम्म र पश्चिममा नासमनासम्म मात्र लैजाने गरी सीमा निर्धारण गरिएको नगर प्रमुख प्रजापतिले जानकारी दिनुभयो । जात्राको समयावधिमा भक्तपुर नगर क्षेत्रका भट्टी पसल तथा मदिरा पसलमाथि निगरानी एवं नियन्त्रण गर्न प्रहरी परिचालन गरिने भएको छ ।
Categorized in राष्ट्रिय