STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

यमपञ्चकको पहिलो दिन काग तिहार

Janjati Khabar – Janjati Khabar | २०८१ कार्तिक १४, बुधबार

काठमाडौं- कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज कागको पूजा गरी मनाइएको छ।सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रुपमा आज बुधबारलाई काग तिहार मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए। 

यमराजको दूतका रुपमा पुजिने कागलाई आज बिहान मनपर्ने खानेकुरा खान दिएर काग तिहार मनाउने चलन छ। यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ। कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठोमीठो खान दिई खुसी पार्ने चलन छ।

लोक व्यवहारमा काग घरमा आई कराएमा ‘शुभ बोल, शुभ बोल’ भनी भन्ने प्रचलनसमेत छ। काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ। आजको दिन कागलाई दही–भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने विश्वास रहिआएको धर्मशास्त्रविद् प्रा‍डा रामचन्द्र गौतम बताउँछन्।

यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ। यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिइएको छ।

यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक मङ्गलबार बेलुकीदेखि नै सुरु भएको हो। यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरश पर्व पनि मङ्गलबार नै मनाइएको छ।

यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ। यस दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशी नामले पनि चिनिन्छ।

Categorized in राष्ट्रिय