STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

म्युजिक भिडियो निर्देशक समाजले प्रदान गरे निर्देशकहरुलाई सम्मान

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ आश्विन १२, बुधबार

नेपालमा अहिले म्युजिक भिडियो निर्माण कार्य दिनानुदिन बढ्दै गइरहेको छ  भने म्युजिक भिडियोमा कार्यरत कर्मिहरुको छाता संगठन नेपाल म्युजिक भिडियो निर्देशक समाजले मंगलबार आयोजना गरेको विजया दशमी-२०७९ शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा म्युजिक भिडियो क्षेत्रका तीन जना निर्देशकहरुलाई सम्मान प्रदान गरिएको छ ।

चलचित्र विकास बोर्डको हलमा आयोजित समारोहमा समाजका संरक्षक तथा सल्लाहकारहरु र साधारण सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा म्युजिक भिडियो निर्देशकहरु सहेन्द्र श्रेष्ठ, प्रकाश भट्ट तथा संगीता श्रेष्ठलाई म्युजिक भिडियोको क्षेत्रमा पुर्‍याएको योगदान स्वरुप विशिष्ट सम्मान गरिएको हो ।

समाजका संरक्षक बाबुराजा केसी ‘उज्ज्वल’ तथा सल्लाहकारहरु संगीतकर्मी तथा निर्देशक नारायण रायमाझी, संगीत तथा फिल्मका डिजिटल प्रवर्द्धक ओम प्रकाश अग्रवाल, निर्देशक शिव बिक र प्रेस सल्लाहकार जीवन पराजुलीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति, वरिष्ठ कलाकार हरिहर शर्माले नेपाली कलाको क्षेत्रमा अर्को एक नयाँ संस्थाको उदय भएकोमा खुशी व्यक्त गरे ।

शर्माले म्युजिक भिडियोको महत्व दर्शाउँदै भने ‘सानो होस् या ठूलो फिल्म होस् या म्युजिक भिडियो होस् यी सबैको उत्तिकै महत्व छ । यदि हामीले फिल्मबाट गीतलाई अलग्गै निकाल्ने हो भने त्यो गीतलाई म्युजिक भिडियोको रुपमा हेर्न सकिन्छ । तसर्थ हामीले यसबारेमा गम्भीर भएर सोच्नुपर्छ ।’

शर्माले कलाका विभिन्न विधाहरुलाई एकिकृत गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरे । प्रस्तुति कलाका सबै माध्यमको उद्देश्य आफ्नो कथा भन्ने हो, यसमा जुन जुन विधाहरु छन् सामूहिक रुपमा काम गर्नुपर्छ भन्नु भयो र यी सबै एक अर्कामा अन्योन्याश्रित छन् र त्यसैले अलग अलग बाटो हिड्यो भने स्थायित्व पाउन असम्भव हुन्छ भन्ने  भनाई शर्माको थियो ।

समाजका अध्यक्ष विधान कार्कीले संस्थाको महत्व र आवश्यकताबारे प्रष्ट पारेका थिए । नेपाली म्युजिक भिडियो निर्देशकहरुको परिचय र पहिचान स्थापित गर्दै उनिहरुका हकहितका लागि काम गर्ने उद्देश्यका साथ संस्थाको स्थापना भएको उनको भनाई थियो ।

म्युजिक भिडियोलाई राज्यबाट पहिचान दिलाई संस्थागत गर्ने काममा संस्था लागिरहेको कार्कीले बताए ।

कार्यक्रम संयोजक समाजकी कोषाध्यक्ष बबिता श्रेष्ठले कार्यक्रमको उद्देश्यबारे जानकारी दिईन् भने प्रथम उपाध्यक्ष देवेन्द्र पाण्डेले संस्था स्थापनाको यात्राबारे जानकारी गराए ।

२०७८ साउन २७ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको ‘नेपाल म्युजिक भिडियो निर्देशक समाज’को पहिलो निर्वाचित कार्यसमितिद्वारा आयोजित कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, चलचित्र निर्देशक दीपाश्री निरौला, नेपाल चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुली, नेशनल डेल्फिक काउन्सिल नेपालका अध्यक्ष श्रीदेव बिएल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

Categorized in साहित्य-कला