STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मोफसलमा अनलाइन प्रणाली प्रभावकारी भएन

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ८, बुधबार

पूँजी बजारका लागि अनलाइन प्रणाली फलदायी हुने विश्वास गरिए पनि मोफसलमा भने यसको प्रभावकारिता देखिएको छैन । प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा शुरुआती चरणमा केही लगानीकर्ताको अनलाइनमा अभ्यास भए पनि अधिकांश लगानीकर्ता जानकार नभएको यहाँको दलाल ब्रोकर कार्यालयले जनाएको छ । अनलाइन सेवा लिने धेरै लगानीकर्ता छन् तर प्रयोगमा ल्याउने केही सीमित लगानीकर्ता छन् । अनलाइनमा अभ्यस्त नभएका लगानीकर्तालाई भने टेलिफोनबाट शेयर खरीद तथा बिक्री गर्न सहज भएको दक्षिणकाली इन्भेष्टमेण्टका प्रकाश अधिकारीले बताउनुभयो । उहाँले लगानीकर्तालाई अनलाइन प्रणालीमा छिर्न अझै केही समय लाग्ने उल्लेख गर्दै बुटवलमा यसको प्रयोग न्यून भएको बताउनुभयो । नेपाल स्टक एक्सचेन्ज नेप्से ले ब्रोकर दलाल कार्यालयमार्फत काठमाडौँमा अनलाइनको अभ्यास गरे पनि बुटवलमा यसको प्रयोग कम देखिएको छ । लगानीकर्ताले अनलाइनमार्फत शेयर करोबार गर्न ‘युजर नेम’ र ‘पासवर्ड’ लिनुपर्छ । लिन्च स्टक मार्केटकी सोनम पाठकले पूर्ण स्वचालित अनलाइन प्रणाली बुटवलमा सन्तोषजनक नभएको उल्लेख गर्दै अनलाइन प्रणाली लिने सङ्ख्या धेरै नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “केही लगानीकर्तालाई अलि झञ्झटिलोजस्तो पनि लागेको छ ।” बुटवलमा रहेका विभिन्न ब्रोकर दलाल कार्यालयमार्फत झण्डै २९५ को हाराहारीमा लगानीकर्ताले अनलाइन प्रणालीको सुविधा लिएको बताइएको छ । नेपाल इन्भेष्टमेण्ट कम्पनीका अध्यक्ष कमल तिवारीले सफ्टवेयर प्रणाली नै गुणस्तरीय नभएका कारण शेयर बजारमा अनलाइन प्रभावकारी हुन नसकेको हो भन्दै बैङ्कले सहायक कम्पनीमार्फत ब्रोकरको काम गरे अनलाइन प्रभावकारी हुन सक्छ भन्नुभयो । उहाँले कतिपय लगानीकर्तालाई प्रयोग गर्ने विधि पनि थाहा नभएकाले समस्या देखिएको जानकारी दिँदै शेयर बजारको दोस्रो बजारमा लामो समय बिताएका केहीले मात्रै अनलाइन सेवा लिएका जानकारी दिनुभयोे । करीब १० महीनाअघि अर्थमन्त्री डा युवराज खतिवडाले अनलाइन प्रणालीको शुभारम्भ गर्नुभएको थियो । बुटवल र भैरहवामा गरेर कूल छ ब्रोकर दलाल कार्यालय छन् । तीमध्ये पाँच बुटवल र एक भैरहवामा छ ।
Categorized in राष्ट्रिय