STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मैथिली विकास कोषद्वारा मैथिली भाषा–साहित्यको संरक्षणमा जोड

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १९, आइतबार

मैथिली भाषाप्रति अपनत्व बोध गरेमा मानक सम्बन्धमा विद्यमान द्विविधाको अन्त्य हुन सकिने धारणा विज्ञले व्यक्त गर्नुभएको छ ।

मैथिली विकास कोषद्वारा आज यहाँ आयोजित ‘मैथिली भाषा–साहित्य संरक्षणमा चुनौती र निदान’ विषयक विमर्श कार्यक्रममा उहाँहरूले परस्परमा बोलिने र अभिव्यक्ति गरिनेमा बोधगम्यता छ भने भाषाप्रति द्विविधाको कुनै प्रश्नै आउँदैन भन्नुभयो ।

मैथिली बोलिरहेको अवस्थामा पनि कुन भाषा बोलिरहेको छु, कुन भाषा हो जस्ता प्रश्न अपनत्व बोधको अभावले उत्पन्न भएको चर्चा गर्दै उहाँहरूले शब्दको उच्चारणले मैथिली भाषाप्रति भ्रम उत्पन्न गर्ने प्रवृत्ति चिन्ताको विषय भएको बताउनुभयो । उहाँहरूले भन्नुभयो, “जातिगत दृष्टिले उच्चारणमा देखिएको भिन्नतालाई शुद्ध र अशुद्ध भनी भाषाप्रति नकारात्मक सोच विस्तार गर्नु हुँदैन ।”

भाषाविद् डा रामावतार यादवले मैथिली भाषा सुरक्षित भाषाको श्रेणीमा रहे पनि स्खलनबाट बचाउनु आवश्यक छ भन्नुभयो । मैथिली भाषाको प्रयोग क्षेत्रको विस्तार, साक्षरतामा वृद्धि र पुस्तान्तरणको आवश्यकता रहेको पनि उहाँले बताउनुभयो ।

साहित्यकार डा राजेन्द्र विमलले मैथिली भाषा–साहित्य, कला, संस्कृतिको दार्शनिकताबारे बोध गराउन अर्को विवेकानन्दको आवश्यकता छ भन्नुभयो ।

मैथिल भाषा, संस्कृति, पहिरन, गरगहना, खानपिन सबैमा सूक्ष्म दर्शन रहेको चर्चा गर्दै उहाँले मैथिली भाषाको बेग्ले प्रतिष्ठान गठन गरी यसको पहिचान, परिष्कारलाई विश्वस्तरमा पु¥याउनु जरूरी रहेको विचार व्यक्त गर्नुभयो ।

प्रा परमेश्वर कापडीले मैथिलीप्रति बढ्दै गएको राग र संवेग उज्वलताको सङ्केत भएको बताउनुभयो ।

प्राध्यापक अमरकान्त झाले मैथिली भाषाको संरक्षणका लागि शिक्षा, शासन र सञ्चारको सुनिश्चिततामाथि जोड दिँदै संविधानमा नै सरकारी कामकाजको भाषाका सम्बन्धमा द्विविधा छ भन्नुभयो ।

प्रा डा भागेन्द्र झाले राज्यप्रति मुखापेक्षी नभई भाषालाई पुस्तान्तरण गरी अपनत्व बोध गराउनु अपरिहार्य रहेको बताउनुभयो ।

Categorized in राष्ट्रिय