STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउने गृहकार्यमा माओवादी

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १५, बुधबार

नेकपा माओवादी केन्द्र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउने गृहकार्यमा जुटेको छ ।

प्रतिपक्ष दल माओवादी केन्द्रले वैशाखभित्रै अविश्वास प्रस्ताव ल्याउने गरी गृहकार्य थालेको हो । उसले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउन प्रदेशको विपक्षी दल नेपाली कांग्रेससँग छलफल गरिरहेको छ । माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने गरी तयारी भइरहेको बताए ।

हाल बागमती प्रदेशमा सत्तापक्ष र प्रतिपक्षी दलबीच दूरी बढेको छ । माओवादी केन्द्रले हिउँदे अधिवेशनका चार वटा प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो । प्रतिपक्षी दलसहित एमालेको माधव पक्षका सांसदले ६ चैतमा मुख्यमन्त्री पौडेलले बोलाएको सर्वदलीय बैठक पनि बहिष्कार गरेका थिए ।

माओवादी केन्द्रले आगामी आर्थिक वर्ष २०७८-०७९ मा पौडेल नेतृत्वको प्रदेश सरकारलाई नीति तथा कार्यक्रम र बजेट ल्याउन नदिने तयारी गरेको छ । माओवादी केन्द्रका नेता जम्मकट्टेलले पौडेल नेतृत्वको सरकारको विकल्प खोज्नु पर्ने बताए । ‘हामीले तत्कालीन समयमा अविश्वास प्रस्ताव फिर्ता लिएका हौं । अब वैशाखभित्रै अविश्वास प्रस्ताव दर्ता हुनेछ । हामीले कांग्रेस र माधव पक्षसँग छलफल गरिरहेका छौँ,’ जम्मकट्टेलले भने ।

उनले वैशाखभित्रै मुख्यमन्त्रीबाट पौडेललाई हटाइने बताए । कांग्रेसले पनि अविश्वास प्रस्ताव ल्याउने विषयमा आन्तरिक तयारी गरिरहेको उनी बताउँछन् ।

बागमतीमा ५७ सांसद रहेको एमालेको एकल बहुमत छ । प्रदेश सरकार गठनका लागि ५६ मत आवश्यक पर्छ । १ सय १० प्रदेशसभा सदस्य रहेको बागमतीमा एमालेका ५७, माओवादी केन्द्रका २३ र कांग्रेसका २२ जना सांसद छन् । प्रदेशसभामा विवेकशील साझाका ३, नेपाल मजदुर किसान पार्टीका २, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् ।

Categorized in राजनीति