STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

माधव नेपाल साधारण सदस्यबाटै निलम्बनमा, ओलीकाे कदम स्वेच्छाचारी र निरंकुश : नेपाल

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र १७, मंगलबार

काठमाडौं - नेकपा (एमाले)ले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेको छ ।

पार्टीले सोधेको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै पार्टी साधारण सदस्यबाट नै निलम्बन गरिएको जनाइएको छ । नेपाल र रावललाई सच्चिनका लागि अन्तिम मौका दिइएको भन्दै आफ्ना क्रियाकलापहरू सच्याएमा निलम्बन अवधि घटाउन सकिने समेत बताइएको छ । पार्टी विरोधी क्रियाकलाप गरेमा निलम्बन कै अवधिमा थप कारबाही गर्ने समेत नेताद्धयलाई बुझाइएको पत्रमा उल्लेख गरिएको छ ।

नेपालले ओलीको कदम अनुमानित भएको भन्दै यसलाई स्वेच्छाचारी र निरंकुशको संज्ञा दिए । अब तपाईं के गर्नुहुन्छ भन्ने प्रश्नमा उनको जवाफ थियो, 'हामी यसबारे सोचिरहेका छौँ, छिट्टै बैठक बसेर रणनीति सार्वजनिक गर्नेछौँ ।'

कारबाहीमा परेका उपाध्यक्ष भीम रावलले पनि आफूविरुद्धको कारबाही कुकृत्य भएको बताएका छन् । तर, यसविरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा उनले पनि केही खुलाएका छैनन् ।

वरिष्ठ नेता झलनाथ खनालले पनि आफ्नो समूहको आगामी कदमबारे प्रष्ट पार्न सकेनन् । उनले ओलीको कारबाही नाटक रहेको प्रतिक्रिया दिए । 'हामीले उनलाई अध्यक्ष र सदस्यबाटै हटाएका हौँ, उनले अरूलाई हटाए, यो कारबाही नाटकै हो,' खनालले भने ।

वरिष्ठ नेता नेपाललाई पार्टी छोड्नसमेत केही नेताहरूको सुझाव छ । नेता नेपाल पक्षको गत १३ चैतमा बसेको केन्द्रीय समिति बैठकमा केही नेताहरूले एमाले फर्किनु नै गलत भएको बताएका थिए । नेता नेपालनिकट केन्द्रीय सदस्यले लिखित प्रस्ताव पेश गर्दै एमाले फर्किनु गलत भएको बताउँदै नेकपाको एकीकरणमा जोड दिनुपर्ने उल्लेख गरेका थिए । कारबाहीमा परेका उपाध्यक्ष रावलसहित अन्य केही नेताहरूको धारणा पनि ओलीसँग मिल्न नहुने पक्षमा छ ।

यता पार्टीको नीति जनताको बहुदलीय जनवाद समान धारणा रहेकाले अन्य विषयमा पार्टीभित्रै बसेर अन्तरसंघर्ष गर्नुपर्ने दबाब पनि नेता नेपाललाई उत्तिकै छ । नीतिगत विषयमा बढी जोड दिने नेताहरू बेदुराम भुसाल, घनश्याम भुसाललगायत युवा नेताहरू गोकर्ण विष्ट, योगेश भट्टराईसहितका नेताहरूले पार्टीभित्रै रहेर अन्तरसंघर्ष गर्नुपर्ने मत राख्दै आएका छन् । उनीहरू ओलीसमक्ष आत्मसपर्ण नगर्ने पक्षमा छन् ।

Categorized in राजनीति