STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

माधवकुमार नेपाल गद्दार : ओली

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ ३०, बुधबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीको सरकार ढाल्न अगुवाइ गर्ने वरिष्ठ नेता माधवकुमार नेपाललाई कुनै क्षमा दिन नसकिने बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर बुधबार दिउँसो बालकोटस्थित निजी निवास फर्किएका अध्यक्ष ओलीले आफ्नै पार्टीको सरकार ढाल्ने माधव नेपाललाई कुनै पनि क्षमा गर्न नसकिने बताएका हुन् । ओलीले माधव नेपाललाई गद्दारको संंज्ञा पनि दिए ।

‘माधव नेपालकै कारण एमालेको सरकार ढलेको हो,’ उनले भने, ‘माधव नेपालजस्ता लाजशरम हराएका विश्वासघाती र अन्तरघातीलाई आत्मालोचना स्वीकार्ने कुनै ठाउँ छैन । नेपालजस्ता गद्दारहरूलाई कुनै क्षमा गर्न सकिन्न ।’

अध्यक्ष ओलीले माधव नेपालका पछाडि लाग्नेहरूका सवालमा कमीकमजोरी महसुस गरेर पार्टीमा फर्किए काम गर्ने मौका दिने बताए ।

‘कमीकमजोरी महसुस गरेर पार्टीमा आउनेहरूलाई हामी काम गर्ने मौका दिन्छौँ । तर, माधव नेपालको हकमा आत्मालोचना स्वीकार्ने कुनै ठाउँ छैन । यो परिस्थितिको निर्माणकर्ता नेपाल हो र अगुवाइ पनि उहाँले नै गर्नु भएको हो । माधव नेपालजस्ता गद्दारहरूलाई कुनै क्षमा गर्न सकिन्न । ’

अध्यक्ष ओलीले पार्टीभित्रका कमजोर तत्वहरू विकाउमा लागेको पनि आरोप लगाए । ‘पार्टीभित्र विभिन्न शक्ति केन्द्रको घुसपैठ भयो । पार्टीभित्रका कमजोर तत्वहरू विकाउमा लागे । प्रतिक्रियावादीका पछि पछि लागेर पार्टी र जनताको शक्तिविरुद्ध आफ्नै सरकार ढाल्न कहिले राष्ट्रपति कहाँ विरोधीलाई अघि लगाएर गए, कहिले अदालत पुगे । उनीहरूलाई क्षमा दिन सकिन्न,’ ओलीले भने ।

यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अदालतको असंवैधानिक फैसलाबाट हटाइएको बताएका छन् ।
बालकोट पुगेका ओलीले कार्यकर्तालाई सम्बोधन गर्दै अदालतमा मुद्दा हालेर जनतामा जान नदिएर जनताको बाटो छेकिएको बताए ।

‘तीन वर्ष पाँच महिनाको कार्यकाल पूरा गरेर आएको छु। म जनताको जनादेशबाट हटेको होइन, अदालतबाट अकारण हटाइएको हुँ। अदालतको असंवैधानिक फैसलाबाट हटाइएको हो।’

ओलीले भने, ‘नेपाली जनताको अधिकार खोसिएको छ। नेताको मूल्याङ्कन गर्ने अधिकार खोसेर अदालतबाट प्रधानमन्त्री तोक्ने विश्वमा कहाँ नभएको जात्रा नेपालमा भएको छ, आफूले गरेका कामको आत्मविश्वासका साथ जिम्मेवारी लिन जान्छौं। चुनाव हारेर प्रधानमन्त्रीबाट म हटेको होइन।’

उनले नेपाली जनताको स्वतन्त्रतामाथि अतिक्रमण भएको पनि बताए ।

Categorized in राजनीति