STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मातृभाषा पत्रकारिताको अझ विकास गर्नुपर्नेमा जोड

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ जेठ १२, बुधबार

छैठौं मातृभाषा पत्रकारिता दिवसको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले आज आयोजना गरेको भच्र्युअल अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले नेपालमा मातृभाषा पत्रकारिताको विकासका लागि   प्रजातन्त्र मात्र आएर नपुग्ने सरोकारवालाहरुले बताएका छन् भने  राज्यले विशेष प्याकेज नै ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार सुरेश किरण मानन्धरले देशमा धेरै पल्ट राजनीतिक परिवर्तन भएपनि मातृभाषा पत्रकारिता क्षेत्रमा कुनै परिवर्तन महसूस गर्न नसकिएको बताउनुभयो ।

पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजबीर बज्राचार्यले दुई वर्ष अघि मातृभाषा पत्रकारिता सम्मेलनबाट पत्रकारिता सम्बद्ध सरकारी निकायहरुमा समानुपातिक, समावेशी प्रतिनिधित्व, संचारगृहमा विषयवस्तुको साथमा व्यक्तिको समावेशी उपस्थिती, मातृभाषी पत्रकारको क्षमता विकास लगायतका विषयहरु समावेश गर्दै घोषणा पत्र जारी गरेको स्मरण गर्नुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव नारायण किलम्बुले मातृभाषा पत्रकारिता दिवस सरकारबाटै मनाइनुपर्ने माग राख्नुभयो । मातृभाषा नै देशको पहिचान बनेको अवस्थामा मातृभाषा पत्रकारिताको विकास पनि राज्यकै दायित्व भएको किलम्बुले भन्नुभयो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङले मातृभाषा पत्रकारिताले सय वर्ष पूरा गर्न लाग्दा पनि मातृभाषाबाट संचालन भइरहेका संचारमाध्यमले मौलिक विषयवस्तु पस्किन नसकेको विचार राख्नुभयो । समुदायको भाषा, संस्कृति र संस्कारको संरक्षणसँग पनि जोडिएकोले मातृभाषा पत्रकारिता निकै चुनौतीपूर्ण र गम्भीर विषय भएको गुरुङको भनाई थियो ।

त्यसैगरी मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले मातृभाषा पत्रकारितालाई अलगधार र खस नेपाली भाषाको पत्रकारितालाई मूलधार भन्दै विभेद भइरहेको गुनासो गर्नुभयो ।

पत्रकार दबूका वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले २०७५ सालमा प्रथम मातृभाषा पत्रकारिता सम्मेलनको आयोजना गरेको स्मरण गर्दै यस वर्ष दोश्रो सम्मेलनको आयोजना गर्ने योजना रहेपनि महामारीको अवस्थामा गर्न नसकिएको जानकारी दिनुभयो । समयानुकुल सम्मेलनको आयोजना गरिने पनि श्रेष्ठले बताउनुभयो ।

आजभन्दा ९६ वर्ष अघि नेपाल सम्वत १०४५ (वि.सं. १९८२) मा ललितपुर चिकंबहिका धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) ले कलकत्ताबाट ‘बुद्ध धर्म व नेपालभाषा ’ नामक नेपालभाषाको पत्रिका प्रकाशन गरेका थिए । यहि पत्रिकालाई नेपालको पहिलो मातृभाषी पत्रिकाको रुपमा लिइन्छ ।

यही पत्रिका प्रकाशनलाई आत्मसात् गर्दै धर्मादित्य धर्माचार्यको जन्मदिन बैशाख शुक्ल चतुर्दशीको दिनमा पत्रकार दबूले प्रथम मातृभाषा पत्रकार धर्माचार्यको जन्मजयन्ती तथा मातृभाषा पत्रकारिता दिवसको मनाउने गरेको छ ।

Categorized in राष्ट्रिय