STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मातृभाषाबाट संघसंस्था दर्ता सहज गराउन गृहमन्त्रीको ध्यानाकर्षण

Janjati Khabar – Janjati Khabar | २०७९ माघ १०, मंगलबार

काठमाडौं – आदिवासी, जनजातिको कुनै पनि संघसंस्थाको नाम मातृभाषाबाट राखेर सम्बन्धित निकायमा दर्ता गराउन जाँदा दर्ता गर्न नमान्ने र इन्कार गरिदिने सम्बन्धमा नेवाः देय् दबूले गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएको छ ।

मंगलबार नेवाः देय् दबूका अध्यक्ष पवित्र वज्राचार्यलगायतको एक प्रतिनिधिमण्डलले गृहमन्त्री लामिछानेसँग भेट गरी यस विषयमा ध्यानाकर्षण गराएको हो ।

विशेषतः नेवार संघसंस्थाका नेपालभाषामा नाम राखेर संघसंस्था दर्ता गराउन जाँदा सम्बन्धित कार्यालयका अधिकारीहरुले सो नाममा असमर्थन जनाउने, नामलाई नेपाली भाषामा परिवर्तन गराउन दबाब दिने कार्य भइरहेको छ । यस सम्बन्धमा गृहमन्त्री लामिछानेलाई ध्यानकर्षण गराई यस कार्यले नेपालको संविधानको मौलिक हकको धारालाई उल्लंघन गरेको र यसले भाषिक भेदभाव भएको कुरा नेवाः देय् दबूले उठाएको छ ।

गृहमन्त्रीलाई दिइएको ध्यानकर्षण पत्रमा उल्लेख छ, ‘रैथाने स्थानीय स्तरको विशेषतासँग जोडिएको नाम फगत एउटा शब्द मात्र होइन, योसँग सभ्यताको विकासक्रमको शृंखला पनि जोडिएको हुन्छ । यस्ता शब्दहरुको विनाश सभ्यता विकासको इतिहासको कालखण्डकै विनाशको रुपमा समेत लिने गरिन्छ ।’ तसर्थ यस्ता नाम, शब्दहरुलाई अमूर्त सम्पदा मान्नुपर्ने र संविधानमै मातृभाषाको प्रयोगको अधिकारलाई सुनिश्चित गरेको तथ्य उजागर गर्दै ध्यानाकर्षण पत्रमा उल्लेख छ, ‘रैथाने स्थानीय विशेषताको आदिवासी पहिचानसँग जोडिएको नाम र भावनालाई सम्मान हुने गरी संघसंस्था दर्ता हुने वातावरणको सुनिश्चितताका लागि गृहमन्त्रालयबाट स्पष्ट निर्देशन संस्था दर्ता गर्ने अधिकार प्राप्त कार्यालयलाई परिपत्र गरिदिनु हुन आदिवासी नेवाः लगायत सम्पूर्ण आदिवासी जनजातिको समुदायको प्रतिनिधित्व गर्दै विनम्र अनुरोध गर्न चाहन्छौं ।’

Categorized in उपत्यका