माछा बेचेर घरको गर्जो टार्दै
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २५, बुधबार
पृथ्वीराजमार्गअन्र्तगत चितवन र धादिङको बीच सिमाना मौवाखोला नजिकै दैनिक डोरीमा माछा उनेर काठमा झुण्ड्याएर उभिरहने व्यक्ति हुन् धादिङ बेनीघाट रोराङ गाउँपालिका–१० मौवाखोलाका नवराज खरेल ।
उहाँ यसरी नै माछा झुण्ड्याएर बेच्दै यही ठाउँमा बसेको १८ वर्ष भयो । राजधानी काठमाडौँ भित्रिने मुख्य सडक यस पृथ्वीराजमार्गमा दैनिक करीब १० हजारको हाराहारीमा सवारीसाधन ओहोरदोहोर गर्छन् । उहाँका ग्राहक भनेका राजमार्गमा गुड्ने तिनै सवारी साधनका यात्रु हुन् । माछा झुण्ड्यार उभिएको देखेपछि सवारी साधन रोकेर ग्राहकले माछा किन्ने गर्छन् ।
उहाँको कमाइ दैनिक रु एक हजारदेखि रु एक हजार ५०० सम्म हुन्छ । यही कमाइले उहाँको घरको गर्जो टर्दै आएको छ । उहाँको परिवारमा बुबा–आमा, श्रीमती र दुई छोरी गरी छ जना छन् । छ जनाको पालनपोषण यही राजमार्गमा दिनभर उभिएर माछा बेची गर्दै आएको उहाँले बताउनुभयो ।
“अठार वर्षदेखि यही राजमार्गमा माछा बेचेरै घरको गर्जो टार्दै आएको छु, दैनिक रु एक हजारदेखि एक हजार ५०० सम्म कमाइ हुन्छ”, उहाँले भन्नुभयो । राजमार्गमा माछा बेचेरै जसोतसो घरको गर्जो टार्दै आएकाले उहाँले अहिलेसम्म विदेश जाने सोच बनाउनुभएको छैन । उहाँले भन्नुभयो, “विदेश जान पनि खासै राम्रो सीप छैन, गतिलो कमाइ हुने जागिर पाउँदैन, ऋण गरेर जानुपर्ने हो, यसैबाट घरखर्च टरेको छ, विदेश जाने सोच बनाएको छैन ।”
माछा व्यापार गर्दा लगानी गर्न नपर्ने उहाँको भनाइ छ । रामेछाप घर भई हाल धादिङको मलेखुमा परिवारसहित बस्दै आउनुभएका रामचन्द्र मगर पनि राजमार्गमा माछा बेच्दै आएको चार वर्ष भयो । उहाँ पनि माछा बेचेरै घर खर्च टार्दै आउनुभएको छ ।
विदेशमा सिकेर नेपालमा व्यावसाय
छ वर्ष कतार र छ महिना अफ्रिका बसाइँपछि अब नेपालमै केही गर्नुपर्छ भन्ने सोच बोकेर स्वदेश फर्किएका गोरखा शहीद लखन गाउँपालिका–१ ठेवाटारका कृष्णबहादुर दराईलाई शुरुमा बेकरी व्यावसाय शुरु गर्छुभन्दा परिवारले साथ दिएनन् । तर उहाँले आँट गरेर चितवनको इच्छाकामना–४ लेवटारमा बेकरी व्यावसाय शुरु गर्नुभयो । शुरुमा उहाँलाई व्यवसाय सञ्चालन गर्न निकै कठिन भयो ।
छ वर्ष कतारमा रहँदा मुस्किलले रु १२ लाख कमाउनुभएको थियो । उक्त रकम व्यवसाय गर्न पर्याप्त थिएन । व्यवसाय सञ्चालन गर्न आवश्यक यन्त्रसमेत खरीद केही ऋण लिएर गर्नुपर्ने बाध्यता भयो । अहिले चार जनाको परिवारलाई पालनपोषण बेकरी व्यवसयाको आम्दानीबाटै धान्नुभएको छ । दुई जनालाई रोजगार पनि दिनुभएको छ । श्रीमती र छोरीहरुले पनि उहाँलाई सघाउँछन् । उहाँले नेपालमै १६ वर्ष र विदेशमा छ वर्ष गरी २२ वर्ष अर्काकोे काम गर्नुभयो ।
कतारमा रहँदा उहाँले अझ धेरै सीप हासिल गर्नुभयो । त्यही सीपलाई नेपालमा आएर केही गर्नुपर्छ भन्ने सोच राखेर फर्किएको उहाँको भनाइ छ । उहाँलाई आफैँले सञ्चालन गरको व्यवसायबाट सन्तुष्टि मिलेको छ । अहिले उहाँले मासिक रु ३० हजार घरभाडामा लिएर व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । अब घर बनाएर व्यवसायलाई अझ विस्तार गर्ने ४४ वर्षीय दराईको योजना छ ।
Categorized in राष्ट्रिय