STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

महिला टी-२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात, भुटानलाई ५० रनले हरायो

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ ३, शुक्रबार

एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ ।

शुक्रबार भुटानलाई ५० रनले पराजित गर्दै एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको हो । नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटान १७ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै ४४ रनमै समेटियो ।

भुटानका लागि छिरिङ जाङ्‌मोले सर्वाधिक १५ र नग्वाङ छोडेनले ८ रनको योगदान दिए । नेपालका लागि कविता कुँवर र संगीता राईले समान २-२ विकेट लिए । यसैगरी अस्मिना कर्मचार्य, सीता मगर र इन्दु बर्माले समान १-१ विकेट लिए ।

मलेसियाको यूएसडी यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रनको योगफल तयार पारेको थियो । नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन जोडिन् ।

यस्तै कप्तान रुविना क्षेत्रीले २१ र इन्दु बर्माले २० रन जोडे । डोली भट्टले ५ र सीता मगरले ५ रनको योगदान दिए । ममता चौधरीले ३ रन जोड्दा ज्योति पाण्डे र अस्मिना कर्माचार्य शून्य रनमै आउट भए ।

भुटानका लागि सोनम पाल्डोनले ४  विकेट लिँदा अन्जु गुरुङ र टासी छेकीले एक-एक विकेट लिए ।  १० टोलीको सहभागिता रहेको च्याम्पियनसिपमा नेपाल समूह 'बी' मा रहेको छ । समूह 'बी'  नेपालसँगै हङकङ, कुवेत,  भुटान र बहराइन छन् ।

च्याम्पियनसिप अन्तर्गत नेपालले दोस्रो खेलमा शनिबार कुवेतसँग, सोमबार बहराइन र मंगलबार हङकङसँग खेल्नेछ ।
समूह 'ए' भने मलेसिया, युएई, ओमान, कतार र सिंगापुर छन् । यी दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

च्याम्पियनसिपको फाइनल पुग्ने टोली महिला टी-२० एसिया कप क्रिकेटका लागि छनोट हुनेछन् ।

Categorized in खेलकुद