महिलामाथि लठ्ठी हिर्काउने इन्स्पेक्टर जिम्मेवारीमुक्त
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १८, आइतबार
काठमाडौं– भीड नियन्त्रणको क्रममा बच्चा बोकेकी महिलालाई लठ्ठीले हिर्काउने प्रहरी निरीक्षक इन्स्पेक्टर देवीप्रसाद पौडेल जिम्मेवारीमुक्त भएका छन् ।
बच्चा बोकेकी महिला हेमा श्रेष्ठलाई पौडेलले लठ्ठीले हिर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । यसै भिडियोलाई आधार बनाएर पौडेललाई जिम्मेवारीमुक्त गरिएको थियो ।
महानगरी प्रहरी प्रभाग भैंसेपाटीको नेतृत्वले पौडेललाई निकालेपछि नयाँ इन्स्पेक्टर पठाएको छ । महानगरी प्रहरी परिसर ललितपुरका प्रमुख टेकप्रसाद राईले पौडेललाई जाउलाखेल तानेका छन् ।
प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी राईले बताए, “एसपी दुर्गा सिंहको नेतृत्वमा छानबिन समितिको छानबिन जारी छ । अब भैंसेपाटीमा प्रहरी निरीक्षक सुजित ओझालाई पठाइएको छ ।”
नेपाली सेनाबाट अवकाश प्राप्त सहायक रथी हेम खत्री र माला साह नामकी महिलाबीच भएको विवादको क्रममा बिहीबार पौडेलले लाठीचार्ज गरेका थिए । माला साहको निम्ति न्याय माग्न खत्री निवास पुगेकी हेमा श्रेष्ठमाथि पौडलले लाठीचार्ज गरेका थिए । सो समय श्रेष्ठले बच्चालाई बोकिरहेकी थिइन् ।
यस घटनालाई लिएर पौडेलले घरमा अनधिकृत रुपमा पसी हुलहुज्जत र तोडफोड सुरु भएपछि सामान्य बल प्रयोग गर्नुपरेको स्पष्टिकरण दिएका थिए ।
घटनाको छानबिनको निम्ति गठित समितिले मंगलबारसम्म प्रतिवेदन तयार गर्नेछ । यसकै आधारमा पौडेलमाथि थप कारबाही गरिने जनाइएको छ ।
Categorized in राष्ट्रिय