STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

महालक्ष्मीका नगरप्रमुख कोरोना मुक्त

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन २०, मंगलबार

ललितपुर – महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ कोरोना सङ्क्रमणबाट मुक्त हुनुभएको छ । 

नगर प्रमुख श्रेष्ठ कोभिड–१९ बाट सङ्क्रमित भएपछि ग्वार्काेको किष्ट मेडिकल कलेजमा भर्ना भएर उपचार गराइ रहनु भएको थियो । “आज मेरो कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ”, मेडिकल कलेजबाट घरजाने तयारीमा रहनुभएका प्रमुख श्रेष्ठले भन्नुभयो, “चिकित्सकले आवश्यक औषधि लेखेर एक हप्ता होम आइसोलेसनमा बस्न सुझाव दिनुभएको छ । त्यसपछि पनि चिकित्सकसँग छलफल गरेर मात्र घरबाहिर निस्कनेछु ।” अब केही दिन आफूले घरबाटै नगरपालिकाका सम्पूर्ण काम सञ्चालन गर्ने उहाँले बताउनुभयो । 

गत भदौ ३० गते प्रमुख श्रेष्ठ र उहाँकी श्रीमती अञ्जिका श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उहाँकी श्रीमती अञ्जिका श्रेष्ठलाई यही असोज १६ गते कोरोना परीक्षणको रिपोर्ट नेगेभिट आएको थियो । 

यसैगरी ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज ९ गतेदेखि बखुन्डोलस्थित निजी निवासमा आइसोलेसनमा रहनुभएका उहाँ अहिले सानेपास्थित स्टार अस्पतालमा भर्ना हुनुभएको छ । असोज १६ गते छातीमा केही समस्या देखिएपछि उहाँ अस्पताल भर्ना हुनुभएको प्रमुख महर्जनका स्वकीय सचिव इन्द्र बज्राचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अस्पताल भर्ना भएतापनि नगरप्रमुखको स्वास्थ्य अवस्था सामान्य नै रहेको छ ।” 

त्यस्तै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उहाँकी श्रमती गङ्गामायालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि दुबै जना यही असोज नौ गतेदेखि होम आइसोलेसनमा रहनुभएको छ । दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी दिनुभयो ।

 

Categorized in व्यक्तित्व