STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

महानगरपालिकाको पहिलो प्राथमकिता महानगरवासीलाई रोग लाग्न नदिनु : सुनिता डंगोल

Janjati Khabar – Janjati Khabar | २०८० जेठ २१, आइतबार

 

काठमाडौँ - काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख (उप-प्रमुख) सुनिता डंगोलले काठमाडौं महानगरपालिकाको पहिलो प्राथमकिता महानगरवासीलाई रोग लाग्न नदिनु रहेको बताएकी छन् ।

शनिवार काठमाडौंमा नेपाल मधुमेही समाज र काठमाडौं महानगरपालिकाको सहकार्यमा आयोजित मधुमेह नियन्त्रणार्थ काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएकी हुन् ।

नगरवासीलाई रोग लागेपछिको उपचार भन्दा पनि रोग लाग्न नै नदिने उपायहरुको बारेमा महानगरले काम गरिरहेको भन्दै उनले देश विकासका लागि जनप्रतिनिधिहरुको इच्छाशक्ति र शारीरिक स्वस्थता दुवै आवश्यक पर्ने बताइन् । उप-प्रमुख डंगोलले धेरैजना जनप्रतिनिधिहरु प्रेसर र मधुमेहको रोगी रहेको भन्दै यस कार्यक्रमले उनीहरुलाई पनि सहयोग पुग्ने बताइन् । उनले जनप्रतिनिधिहरुको जीवनशैलीसँग जोडेर यस किसिमका स्वास्थ्य केन्द्रित तालिमहरु दिनसके त्यसले धेरै फाइदा पुग्नेमा जोड दिइन् ।

‘धेरैजना प्रतिनिधिहरु प्रेसरको पेसेन्ट हुनुहुन्छ । धेरैजना प्रतिनिधि ज्युहरु औषधि खानुहुन्छ, डायबिटिजको औषधि खानुहुन्छ,’ उनले भनिन्, ‘त्यो लाइफस्टाइलसँग जोडेर यो तालिम दिनसके जब जनप्रतिनिधिहरु स्वस्थ हुनुहुन्छ, तब समाजमा अझ धेरै काम गर्न सकिन्छ । जनप्रतिनिधिको भुमिका र त्यो काम कारबाहीमा एकदमै एपिसिएन्ट रुपमा काम गर्न सकिन्छ । किनभने हामी सबैलाई थाहा छ, स्वास्थ्य रहे हामी सबै छौँ, स्वास्थ्य नरहे केही पनि छैन, जतिसुकै काम गर्छु भन्ने इच्छाशक्ति भएर मात्रै पनि पुग्दैन । त्यसैले पनि यो कार्यक्रम जनप्रतिनिधिका लागि नै गरिएको हो ।’

उक्त तालिम र अभिमुखीकरण कार्यक्रमबाट आफ्नो जीवनशैली सुधार्न पनि केही न केही कुरा सिक्न सकिने उनले बताइन् । भनिन्, ‘आफ्नो मात्रै नभइ आफ्नो वडावासीको जीवनशैली सुधार गर्न र घर घरको रोग मधुमेहलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा पनि यहाँहरुले वडामा जनचेतनामुलक काम गर्दा स्वास्थ्य र घरसँग जोडिएको कार्यक्रम वडामा लैजान सहज हुनेछ । त्यसैले पनि हामी रोग लाग्न नै नदिनेतर्फ जान सक्छौँ । रोग लाग्न नै नदिनु पहिलो हाम्रो प्राथमिकता हो ।’

Categorized in उपत्यका