STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

मन्त्री अधिकारीको अन्त्येष्टि पोखराको रामघाटमा हुने

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १७, शुक्रबार

हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको श्रद्धाञ्जलि कार्यक्रम पोखराको प्रदर्शनी केन्द्रमा हुने भएको छ ।

काठमाडौँबाट आज मध्याह्न दिवङ्गत मन्त्री अधिकारीको पार्थिव शरीर पोखराको विमानस्थलमा ल्याएपछि प्रदर्शनी केन्द्रमा राखिने गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले जानकारी गराउनुभयो ।

मन्त्री बस्नेतका अनुसार नेता अधिकारीप्रति सर्वसाधारणले श्रद्धासुमन अर्पण गरेपछि उहाँको शवयात्रा पोखराको नयाँबजार, महेन्द्रपुल, रानीपौवा, अस्पतालचोक र गीता मन्दिर हुँदै रामघाटमा पुगी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।

कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको जामुनाबोटमा जन्मनुभएका स्व अधिकारी कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीप्रति अन्तिम श्रद्धाञ्जली दिन सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई खटाएको छ । उनी पोखरामा जानेछन् ।

त्यस्तै नेकपाले नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठ प्रकाशलाई पनि अन्तिम श्रद्धाञ्जली कार्यक्रमका लागि खटाएको छ ।

रामघाटमा अन्त्यष्टि गर्नुअघि गौतम र श्रेष्ठले दिवंगत मन्त्री अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउनेछन् भने पोखरेलले राष्ट्रिय झण्डा ओढाउने छन् ।

मन्त्री अधिकारीसहित दुर्घटनामा मृत्यु भएका सातै जनाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि केही समय अगाडि टुँडिखेलमा राखिएको हो । अब केहीबेरमा पोखरा लगिनेछ ।

Categorized in राष्ट्रिय