STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मध्यपुर थिमि र सूर्यविनायक नगरपालिका कोरोना हटस्पट बन्दै

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १०, शुक्रबार

भक्तपुरका चार नगरपालिकामध्ये दुई नगरमा कोरोना भाइरस संक्रमणका दृष्टिले हटस्पट बन्ने खतरा बनेका छन्। मध्यपुर थिमि र सूर्यविनायक नगरपालिका कोरोना भाइरस संक्रमण हटस्पट भन्ने दिशातिर अघि बढेका हुन्।

स्वास्थ्य कार्यालय भक्तपुरकाअनुसार पछिल्लो समय मध्यपुर थिमि र सूर्यविनायक नपाका कोरोना भाइरस संक्रमितहरुको संख्या निरन्तर बढिरहेको छ। कार्यालय प्रमुख कृष्ण मिजारले संक्रमण नियन्त्रण र व्यवस्थापनमा कडाइ नगरे मध्यपुर थिमि र सूर्यविनायक नपामा कोरोना भाइरस संक्रमणको अवस्था नियन्त्रण बाहिर जाने चिन्ता व्यक्त गरे। जनस्वास्थ्य सुरक्षाको मापदण्ड पालनासँगै संक्रमण फैलिन नदिने अन्य उपाय अपनाउन नगरपालिका अग्रसर हुनुपर्ने उनको भनाइ थियो।

बिहीबार भक्तपुरमा एकैदिन ८० जना कोरोना भाइरस संक्रमित थपिँदा मध्यपुर थिमिका २२ र सूर्यविनायक नपाका ३७ जना थिए। त्यस्तै बुधबार ८६ जनालाई संक्रमण पुष्टि हुँदा मध्यपुर थिमिका २३ र सूर्यविनायक नपाका २८ जना रहेका थिए।

भक्तपुरमा बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ४ सय पुगेको छ। जसअनुसार मध्यपुर थिमि नपाका मात्रै एकसय ६१ जना रहेका छन्। सूर्यविनायक नपामा भने संक्रमित संक्रमित एकसय ३७ जना पुगेका छन्। त्यस्तै भक्तपुर नपामा ४८ र चाँगुनारायण नपामा ४५ जना सक्रिय संक्रमित रहेका छन्।

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार भक्तपुरमा संक्रमितको संख्या १० हजार एक सय ४९ पुगेको छ। जसमा पुरुष ५ हजार ७ सय ७ र महिला ४ हजार ४ सय ४२ रहेको कार्यालय प्रमुख मिजारले जानकारी दिए।

भक्तपुरका चार नगरमध्ये सबैभन्दा बढी मध्यपुर थिमि नपामा ३ हजार ७ सय ३३ जनालाई संक्रमण पुष्टि भएको छ। मध्यपुर थिमिपछि सूर्यविनायक नपामा ३ हजार २ सय ७८ जनालाई संक्रमण भएको छ।

भक्तपुर नपामा एक हजार ८ सय ९१ र चाँगुनारायण नपामा ९ सय ३५ जनालाई संक्रमण पुष्टि भएको छ। भक्तपुरमा कोरोना भाइरस संक्रमणको कारण एकसय २८ जनाको मृत्यु भइसकेको छ। यहाँ ८३ पुरुष र ४५ महिलाको संक्रमणको कारण मृत्यु भएको हो।

भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी भक्तपुर नपाका ४५ जना संक्रमितको मृत्यु भएको छ। यहाँका २९ पुरुष र १६ महिलाले कोरोनाको कारण ज्यान गुमाएका छन्।

मध्यपुर थिमि नपाका २८ पुरुष र १४ महिला गरी ४२ जना संक्रमितको मृत्यु भएको छ। सूर्यविनायक नपाका १८ पुरुष र १३ महिला गरी ३१ ले संक्रमणको कारण ज्यान गुमाउँदा चाँगुनारायण नपाका ८ पुरुष र २ महिला गरी १० जनाको मृत्यु भएको छ।

भक्तपुरका ९ हजार ६ सय २१ जना संक्रमित डिस्चार्ज भइसकेका छन्। ५ हजार ४ सय १२ पुरुष र ४ हजार २ सय ९ महिला डिस्चार्ज भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

Categorized in स्वास्थ्य-मौसम