STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भ्याट लगाएपछि आलु, प्याजको आयात बन्द

Janjati Khabar – Janjati Khabar | २०८० जेठ २९, सोमबार

काठमाडौं - आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले अति आवश्यक खाद्यवस्तु आलु प्याजमा मुल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि यसको विरोध सदनदेखि सडकसम्म नै भएको छ ।

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उदेश्यले सरकारले आयातित खाद्यान्नमा कर लगाउने व्यवस्था गरेको स्पष्ट गरेको छ । तर, उपभोक्ताको माग अनुसार नेपालमा आलू, प्याजको उत्पादन नभएको भन्दै व्यवसायीहरुले सरकारको निर्णयको विरोधमा आयात नै बन्द गरेका छन् । जसका कारण उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत भ्याट छुट खारेज गरेसँगै अधिकांश तरकारी तथा फलफूलको मूल्य दोब्बर रुपैयाँले महँगिएको छ । काठमाडौंको कालीमाटि तरकारी बजारमा कृत्रिम अभाव नै सिर्जना भएको छ । कालीमाटि विकास समितिले प्याज अभाव भएको भन्दै जेठ २१ बाट प्याजको मुल्य तोकेको छैन । तर, बजारमा जेठ १५ मा औसत ३५ रुपैयाँमा किनबेच भएको प्याज अहिले बजारमा प्रतिकिलो २ सय रुपैयाँसम्म बिक्री भइरहेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा पनि विपक्षी दलका सांसदहरुले तरकारीमा लगाइएको करबारे आलोचनाहरु गरे ।

तर, आगामी वर्षको पोष्ट बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदैँ अर्थमन्त्री डा.प्रकाशशरण महतले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि नै आलु, प्याजमा कर लगाएको स्पष्टिकरण दिएका छन् ।

किसानलाई संरक्षण तथा स्वदेशी उत्पादनलाई प्रर्वद्धन गर्ने भन्दै सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत आलु, प्याज लगायतका तरकारीमा लगाएको भ्याटको तरकारी ब्यापारीहरुले विरोध जनाएका छन् । खासगरी भारतबाट ठूलो परिमाणमा आयात हुने तरकारीकै कारण नेपालमा उत्पादित तरकारीले बजार मुल्य नपाएको गुनासो किसानहरुको लामो समयदेखिको हो ।

उत्पादित तरकारीले मूल्य नपाउँदा किसानहरुले पटक पटक तरकारी सडकमा ल्याएर फाल्नु परेको छ । त्यसैले आयात प्रतिष्थापन गर्ने सरकारको नीतिप्रति किसानहरु खुशी छन् । तर, पनि नेपाली बजारको माग धान्न पुग्ने अवस्था नै सिर्जना भइसकेको छैन । जसको प्रत्यक्ष असर नेपाल भान्सामा देखिने अवस्था छ ।

नेपालमा वार्षिक ४० अर्बको तरकारी र २२ अर्बको फलफूल आयात हुने गरेको छ । यस्तो बेलामा, सरकारले नेपाली उत्पादनलाई प्रोत्साहन गर्छु भन्नु गलत होइन । तर, स्वेदेशी उत्पादनमा आत्मनिर्भर नहुँदै हचुवाको भरमा गरिने निर्णयले आम उपभोक्ता मारमा परेका छन् ।

Categorized in बिजनेस