STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भिजिट भिसा सेटिङ : विमानस्थलका ८ जना अधिकृत फरार

Janjati Khabar – Janjati Khabar | २०८० माघ १४, आइतबार

काठमाडौं- भिजिट भिसामा सेटिङको आरोप लागेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका ८ जना अधिकृत फरार छन् ।  प्रहरीले अध्यागमन अधिकृत नरवीर खड्कालाई पक्राउ गरेर यस प्रकरणको अनुसन्धान गरिरहेको छ । 

उनको बयानका आधारमा थप ७ जनाविरुद्ध पक्राउ पुर्जी लिएको छ। यसअघि नै पक्राउ अनुमति लिइसकेका ताराबहादुर कुँवर पनि फरार छन् । भिजिट भिसाको सेटिङमा संलग्न रहेको आरोपमा अध्यागमनका ९ जना अधिकृतमाथि मुद्दा चलाउने राय प्रहरीले दिएको छ । 

यसअघि अध्यागमनमा कार्यरत रहेका अधिकृत कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल र सुजन फागोविरुद्ध पनि प्रहरीले पक्राउ अनुमति लिइसकेको छ।  तर अनुसन्धानको म्याद सकिन लागेकाले प्रहरीले उनीहरूलाई फरारकै सूचीमा राखेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाउने तयारी गरेको छ । 

उनीहरु हाल कहाँकहाँ कार्यरत छन्? भन्ने खुलाएर पठाइदिन प्रहरीले सामान्य प्रशासन मन्त्रालयसँग विवरण माग गरेको छ । यसअघि उनीहरु अध्यागमन कार्यालयमा भए पनि हाल कहाँ कार्यरत छन् भन्ने खुलेको छैन । तर अध्यागमनमा कार्यरत रहँदा उनीहरु भिजिट भिसाको सेटिङमा संलग्न रहेको अनुसन्धानका क्रममा पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकारीले बताए ।  

पक्राउ परेका नरवीर खड्कालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो । पक्राउ पर्नासाथ उनले आफू बाहेकका अरु अधिकृतहरू पनि संलग्न रहेको बताएका थिए । प्रहरीका अनुसार भिजिट भिसाको सेटिङ पहिले ताराबहादुर कुँवरले मिलाउँथे । पछि उनले नरवीर खड्कालाई जिम्मा लगाएका थिए । 

उनीहरू दुवै जना रुकुम कै हुन् । पछिल्लो समय नरबहादुरले नै दलालसँग मिलेर विमानस्थलमा सेटिङ मिलाउने गरेको प्रहरीको दाबी छ । 

पक्राउ परेका दुई जना बिचौलियाले नरवीरलाई दुई करोड बुझाएको अनुसन्धानका क्रममा बताएका छन् । नरवीरले अध्यागमनका कर्मचारीलाई रकम बाँड्ने गरेका थिए । प्रहरीले भिजिट भिसाको सेटिङमा संलग्न १० जनालाई पक्राउ गरेको छ । सुरुमा लिखत सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरेको थियो ।

पछि सङ्गठित अपराधमा म्याद लिएर अनुसन्धान गरेको थियो । आइतबार अनुसन्धान थालेको ५७ औं दिन भयो । ६० दिनभित्रमा जिल्ला अदालतमा मुद्दा दायर गरिसक्नु पर्नेछ । प्रहरीले भिजिट भिसामा सेटिङको आरोपमा अध्यागमन कार्यालयका कर्मचारीमाथि अनुसन्धान सुरु गरेसँगै अध्यागमनका कर्मचारी र प्रहरीबीचको विवाद कुटाकुटमा पुगेको छ। अध्यागमनका अधिकारीहरूले प्रहरीले आफ्नो क्षेत्राधिकार बाहिर गएर बढी चासो दिएको आरोप लगाएका छन् । गतसाता भिजिट भिसामा विदेश जान लागेका ८० जनाभन्दा बढीलाई २४ घण्टाभित्रमै फिर्ता गरिएको थियो ।

उनीहरूलाई फिर्ता गरिएको विषयमा पनि अध्यागमनका अधिकारीहरू रुष्ट बनेका थिए । प्रहरीले भने अध्यागमनका कर्मचारीले सेटिङमा पठाउन लागेको आरोप लगाएको छ । गत शुक्रबार अध्यागमनका अधिकृतको शरीर चेकजाँच गर्न खोजेपछि विमानस्थलभित्रै प्रहरी र कर्मचारीबीच कुटाकुट भएको थियो । कुटाकुटको घटना छानबिनका लागि गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा छानबिन समिति बनाएको छ । 

अहिले अध्यागमनका कर्मचारीहरू विमानस्थल सुरक्षाबाटै प्रहरीलाई अलग गर्नुपर्ने माग गरिरहेका छन् । केही दिनअघिबाट विमानस्थल भन्सारमा सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ। यसअघिका छानबिन समितिले भन्सारमा प्रहरी राख्नु पर्ने राय दिएको थियो । तर सशस्त्र प्रहरीलाई पनि खटाएपछि नेपाल प्रहरी रुष्ट बनेको छ ।

Categorized in राजनीति