STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

भाषाविज्ञ पोखरेलको निधन

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १२, आइतबार

वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको आज बिहान निधन भएको छ । विगत एक महीनादेखि अस्वथ्य स्व पोखरेलको आज बिहान १ बजे ८६ वर्षको उमेरमा निधन भएको हो । उहाँको विराटनगर–८ कलेज रोडस्थित आफ्नै घरमा निधन भएको हो । मस्तिष्कघातबाट पीडित प्राध्यापक पोखरेलको रक्तचाप एक्कासी घटेपछि शनिबार अस्पताल भर्ना गरिएको थियो । बालकृष्ण पोखरेलका ११५ कृति प्रकाशित भएको युवा साहित्कार मीनकुमार नवोदित श्रेष्ठले जानकारी दिनुभयो । खस जातिको इतिहास, १०० वर्ष र नेपाली वृहत् शव्दकोष आदि उहाँका चर्चित कृतिहरु रहेका छन् । बाबु सुब्बा शारदा पोखरेल र आमा कृष्णछायाँदेवीका सुपुत्रका रूपमा मकवानपुर चिसापानीगढीमा विसं १९९० भाद्र कृष्णाष्टमीका दिन स्व पोखरेलको जन्म भएको हो । रूपावासी, वसन्त, वत्सल, इसावापुर, लक्ष्मीविलास, पोखरेल, गढतिरे साँहिलो, हिमालपाने बराल आदिजस्ता उपनामबाट पनि उहाँलाई नेपाली साहित्यका क्षेत्रमा चिन्ने गरिएको छ । स्व पोखरेल कलकत्ता विश्वविद्यालयबाट भाषाशास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गरी विसं २०१९ देखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन कार्यमा संलग्न हुनुहुन्थ्यो । विसं २०२७ देखि २०३६ सम्म महेन्द्र मोरङ र पछि स्नातकोत्तर क्याम्पसमा प्राध्यापन गर्नु भएका पोखरेलले विसं २०४६ मा अवकाश लिनुभएको थियो । उहाँ विसं २०३६ देखि २०४१ सम्म नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य हुनुभएको थियो । पोखरेल विभिन्न भाषिक तथा साहित्यिक संस्थामा आबद्ध रहनुभएको थियो । उहाँको पार्थिव शरीरमा स्थानीय साहित्यकार, कवि, पत्रकार, समाजसेवीले श्रद्धा अपर्ण गरिरहेका छन् । उहाँको एक छोरा र दुई छोरी रहेका छन् । उहाँको आजै स्थानीय परोपकार घाटमा दाहसंस्कार गरिने बताइएको छ ।
Categorized in राष्ट्रिय