STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो विश्वकप क्रिकेटको उपाधि

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर ३, आइतबार

काठमाडौं- अष्ट्रेलियाले घरेलु टोली भारतलाई स्तब्ध पार्दै विश्वकप क्रिकेटको उपाधि जितेको छ । अहमदाबादमा भएको फाइनल खेलमा भारतले उपाधिका लागि २४१ रनको लक्ष्य दिएको थियो ।

अष्ट्रेलियाले ४३ ओभरमा मात्र ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि  ट्राविस हेडले तेस्रो विकेटका लागि मार्नश लाबुशेनसँग १९२ रनको साझेदारी गरे ।

जितका लागि मात्र २ रन चाहिएको बेला उनी १३७ रन बनाएर आउट भए । यसअघि भारतले विराट कोहली र केएल राहुलको अर्धशतकीय पारीको मदतमा निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रन बनाएको थियो ।

यससँगै अष्ट्रेलिया छैटौं पटक विश्वविजेता बन्न सफल भयो । सन् १९८७ मा पहिलो पटक उपाधि जितेको अष्ट्रेलियाले सन् १९९९, २००३ र २००७ मा उपाधि जितेर उपाधिमा ह्याट्रिक गर्ने कीर्तिमान बनाएको थियो ।

यस्तै अष्ट्रेलियाले २०१५ मा पाँचौ पटक उपाधि जित्ने क्रममा न्युजिल्यान्डलाई पराजित गरेको थियो । भारतको तेस्रो पटक उपाधि जित्ने लक्ष्य भने पूरा हुन सकेन । सन् १९८३ मा पहिलो उपाधि जितेको भारत पछिल्लो पटक २०११ मा च्याम्पियन बनेको थियो । 

यसपटक लिग चरण र सेमिफाइनल गरी लगातार १० खेलमा अपराजित रहँदै उत्कृष्ट लयमा रहेको भारत फाइनलमा भने अष्ट्रेलियासँग पराजित हुँदा स्तब्ध बन्यो । विश्वकपको लगातार १० खेलमा जित हात पारेको भारतका लागि फाइनलमा ब्याटिङ नचल्नु दुर्भाग्य बन्यो ।

India's-Jasprit-Bumrah-1700409974.jpg

अष्ट्रेलियाले यो विश्वकपमा सुरुवाती दुई खेलमा पराजय भोगेको थियो । पहिलो खेलमा भारत र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग हारेको अष्ट्रेलियाले त्यसपछि सात खेल जितेर सेमिफाइनलमा स्थान पक्का गरेको थियो । सेमिफाइनलमा अष्ट्रेलियाले दक्षिण अफ्रिका र फाइनलमा भारतलाई पराजित गर्दै समूह चरणको हारको बदला समेत लिन सफल भयो । 

अष्ट्रेलियाले एकदिवसीय क्रिकेट विश्वकपको फाइनलमा भारतसँग अपराजित नतिजा कायम राखेको छ। यसअघि अष्ट्रेलियाले सन् २००३ को फाइनलमा पनि भारतलाई पराजित गरेर उपाधि जितेको थियो ।  

Categorized in खेलकुद