STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भारतलाई टाेकियाे ओलम्पिकमा पहिलो स्वर्ण

Janjati Khabar – एजेन्सी | २०७८ श्रावण २३, शनिबार

टोकियो ओलम्पिक २०२० अन्तर्गत एथ्लेटिक्सको ज्याभलिन थ्रोमा निरज कुमारले भारतलाई पहिलो स्वर्ण दिलाएका छन् । शनिबार निरजले ८७।५८ मिटरको प्रदर्शनसहित स्वर्ण पदक जितेका हुन् ।

प्रतियोगिताको स्वर्ण पदक दावेदार मानिएका जर्मनीका जोहानेस भेटरले फाइनलमा समेत स्थान बनाउन नसक्दा निरजको स्वर्ण पदकको सम्भावना बलियो बनेको थियो । चेक रिपब्लिकका दुई खेलाडीले निरजलाई पछ्याएपनि पछि पार्न सकेनन् । चेकका याकुब भाद्लेचले ८६।६७ मिटरसहित रजत र भितेस्ज्लाभ भेसेलीले ८५।४४ मिटरसहित कास्य पदक जिते ।

पाकिस्तानका अर्शद नदीम ८४।६२ मिटरको प्रदर्शनसहित पाँचौ भए । एक समय पदक जित्ने सम्भावना देखाएका उनले पछिल्लो प्रयासमा सुधार गर्न नसक्दा पाँचौ स्थानमा सिमित रहे । अर्शदले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा ८६।२९ मिटरको कीर्तिमानका साथ ओलम्पिकमा छनोट भएका थिए । उक्त प्रदर्शन दोहोर्याउन सकेको भएपनि उनले कास्य पदक जित्ने थिए ।

यता भारतले भने निरजको स्वर्ण सहित टोकियो ओलम्पिकमा पदक संख्या ७ पुर्याएको छ । भारतले १ स्वर्ण, २ रजत र ४ कास्य जितेको छ । भारोत्तोलनमा मिराबाई चानुले रजत पदक जित्दै भारतको पदकको सिलसिला सुरु भएको थियो । कुस्तीमा रवी दहियाले पनि रजत जितेका थिए ।

भारतले हक्कीबाहेक अन्य खेलमा स्वर्ण जितेको यो दोस्रो अवसर हो । यसअघि सुटिङका अभिनव बिन्द्राले सन् २००८ को बेजिङ ओलम्पिकमा स्वर्ण जितेका थिए । भारतले ओलम्पिकको एथ्लेटिक्समा कुनैपनि पदक जितेको यो पहिलो अवसर हो ।

Categorized in खेलकुद