STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भारतबाट फर्केका संक्रमितमा कोरोनाको नयाँ ‘भेरियन्ट’ देखियो

Janjati Khabar – रासस | २०७७ चैत्र २२, आइतबार

काठमाडाैं - भारतबाट फर्केका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का एक पुरुषमा नयाँ प्रकारको (भेरियन्ट) कोरोनाको संक्रमण भएको पुष्टि भएको छ ।

दुई साताअघि भारतको कर्नाटकबाट फर्केका व्यक्तिमा नयाँ प्रकारको कोरोनाको संक्रमण भएको पाइएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड पर्सन सिद्धराज भट्टले बताए ।

'शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको नतिजा आएको छ', उनले भने, 'नतिजामा कृष्णपुरका एक जनामा नयाँ प्रकारको कोरोना संक्रमण देखिएको छ ।'

उनका अनुसार नयाँ भेरियन्ट कोरोनाको संक्रमण भएका व्यक्ति घरमै आइसोलेसनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य छ । भारतको कर्नाटकबाट फर्केका उनी पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भित्रिएका थिए ।

यसैगरी सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म कञ्चनपुरका एकसहित डोटीको जोरायल गाउँपालिकाका एक र डडेल्धुराको पर्शुराम नगरपालिकाका एक जना गरी तीन जनामा नयाँ भेरियन्ट कोरोनाको पुष्टि भएको छ । भेरियन्ट कोरोना भएका सबै जना घरमै आइसोलसनमा बसेका छन् ।

Categorized in स्वास्थ्य-मौसम