STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भारतबाट तरकारी आउन बन्द भएपछि मूल्य आकासियो

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ११, बुधबार

केही दिनयता भारतबाट नेपाल आउने तरकारी व्यापारीले मगाउन छोडेपछि डोटी जिल्लासहित यहाँका अन्य पहाडी जिल्लाहरुमा तरकारीको मूल्य आकासिएको छ । यहाँका पहाडी जिल्लाहरुमा मागअनुसारको तरकारी उत्पादन नहुने तथा भारतबाट आयात गरिने तरकारीमा विषादी देखिन थालेको भन्दै तरकारी आयात बन्द भएसँगै दीपायलमा तरकारीलगायत अन्य फलफूलको मूल्य बढाउनु परेको चन्द तरकारी पसल पिपल्लाका दिनेश चन्दले बताउनुभयो । उहाँल भन्नुभयो, “भारतबाट आयात गरिने तरकारीसहित आँप, लिचीलगायतका फलफूलमा विषादी भएको भन्ने खबर आयो, हामीले तरकारी र फलफूल मगाउन छोडेकाले यहाँ मूल्य बढेको हो ।” तरकारी आयात गर्न बन्द गरिएपछि यहाँका होटेल तथा स्थानीयवासीका भान्सामा दैनिक प्रयोग हुने खाद्यान्न तथा तरकारीको मूल्य आकासिएको हो । तरकारीको मूल्य अत्यधिक बढेपछि सबैभन्दा बढी गरिखाने वर्ग समस्यामा परेको दीपायल पिपल्लाका स्थानीयवासी वीरबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा तरकारी उत्पादन कम हुन्छ, तराईबाट आयात गरिएको तरकारी विषादी मिसिएको भनेर ल्याउन छोडे, यहाँ मूल्य बढेपछि दैनिक मजदुरी गरिखाने वर्ग मारमा परेका छन् ।” यहाँका तरकारी बजारमा सबैभन्दा बढी गोलभेँडाको भाउ बढेर प्रतिकिलो रु २०० पुगेको स्थानीय उपभोक्तहरु बताउँछन् । केही दिनपहिले प्रतिकिलो रु १०० मा पाउने गरेको गोलभेँडा एकाएक दुई गुणाले वृद्धि भएको स्थानीय उपभोक्त खडक बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले प्रतिकिलो १०० रुपैयाँमा पाइने गोलभेँडा अहिले २०० रुपैयाँ पुगेको छ, काउली, सिमीलगायतका तरकारीमा भाउ बढेको छ, हामीलाई समस्या भयो ।” त्यस्तै भारतबाट आयात गरिएको आँप पहिले प्रतिकिलो रु ८० मा पाइने भए पनि अहिले भारतको आँप ल्याउन छोडिएपछि यहाँको स्थानीय आँपको मूल्य प्रतिकिलो १९० रुपैयाँ पर्न थालेको छ । जिल्लामा पर्याप्त मात्रामा पानी नहुँदा यहाँका कृषकहरुले बेमौसमी तरकारी खेती निकै कम गर्दै आएको र भारतबाट तरकारीलगायत अन्य वस्तु आयात गर्न बन्द भएपछि यहाँ उत्पादन भएको स्थानीय तरकारी र फलफूलको मूल्य वृद्धि भएको देउवा तरकारी पसल पिपल्लाका व्यापारी लोकबहादुर देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “भारतलगायत तराईबाट तरकारी ल्याउन बन्द गरेका छौँ, जिल्लामा प्रशस्त तरकारी नपाउँदा मूल्य वृद्धि भएको हो ।” डोटीमा विगतदेखि नै छिमेकी जिल्ला डडेल्धुरा, कैलाली, कञ्चनपुर तथा भारतको पलिया, लखनऊ, बरेली, खटिमा, बनबासा, गौरीफाँटलगायतका शहरबाट तरकारी आयात गरिँदै आएको थियो । त्यस्तै बजारमा अहिले आलु प्रतिकिलो रु १००, लौका प्रतिकिलो रु ९०, हरियो खुर्सानी प्रतिकिलो रु १५० रहेको तरकारी व्यापारीहरु बताउँछन् । यतिमात्र नभई यहाँको बजारमा तरकारीको मूल्यमा एकरूपता नभएका कारण व्यापारीहरुले पसलैपिच्छे तरकारीको मूल्य अलगअलग लिने गरेको उपभोक्ताहरुको गुनासो छ । यहाँका तरकारी पसलहरुमा पसलैपिच्छे अलगअलग मूल्य लिइँदै गरे पनि मूल्यमा एकरूपता दिन सम्बन्धित निकायले कुनै चासो नदेखाएको दीपायलका स्थानीय सर्वजीत देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “पसलैपिच्छे अलगअलग मूल्य लिइन्छ तर मूल्यमा एकरूपता दिन कसैले चासो देखाएका छैनन् ।” तरकारी उत्पादनको पकेट क्षेत्र बनाउन जिल्लामा विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले लाखौँ रकम खर्चे गरिरहेपनि लक्षअनुसार तरकारी उत्पादन हुन सकेको छैन ।
Categorized in राष्ट्रिय