STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भव्य रुपमा सम्पन्न भयो राष्ट्रिय संगीत दिवस

Janjati Khabar – विजयरत्न असंबरे | २०८० जेठ २२, सोमबार

संगीत दिवस भन्ने वित्तिकै  जुन २१ लाई सम्झिनुभयो होला पक्कै पनि । हो, जुन २१ संगीत दिवस नै हो तर अन्तर्राष्ट्रिय भने राष्ट्रिय संगीत दिवस मनाउने गरिंदैन थियो । यही कुरालाई मनन् गर्दै केही कलाकर्मीहरुले चन्द्रमास अनुसार अब जेठ पुर्णिमा अर्थात ज्याःपुन्हिको दिनलाई राष्ट्रिय संगीत दिवसको रुपमा मनाउनुपर्ने आवाज उठाएका छन् । यहि आवाज उठाउँदै ललितपुरमा ‘राष्ट्रिय संगीत दिवस २०८०’ कार्यक्रमको आयोजना गरिएको छ ।

आइतबार जेष्ठ पूर्णिमा ज्याःपुन्हिको दिन ललितपुरको इन्दिरा संगीत महाविद्यालयमा शास्त्रीय संगीत समाज, नृत्य निर्देशक संघ नेपाल ललितपुर शाखा र यलमाया केन्द्रको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

‘हामीले हाम्रै मौलिकतालाई वास्ता गरेका छैनौं बरु, १९८२ देखि फ्रान्सबाट सुरु भएको अन्तर्राष्ट्रिय संगीत दिवसलाई भने भव्य रुपमा मनाउने गर्छौं । यस बर्षदेखि हामीले पनि इतिहास बोकेको दिनलाई किन राष्ट्रिय संगीत दिवस रुपमा नमनाउने भनेर कार्यक्रमको आयोजना गरेका हौँ” कार्यक्रम संयोजक संजय शर्मा राजोपाध्यायले बताए । आउँदो बर्षमा जेठ पुर्णिमाको दिनलाई राष्ट्रिय संगीत दिवसको रुपमा पात्रोमा उल्लेख गराउने योजना आफुहरुको रहेको पनि राजोपाध्यायले खोले ।

चन्द्रमास अनुसार जेष्ठ पूर्णिमा ज्याःपुन्हिको दिनलाई वर्षको सबैभन्दा लामो दिनको रुपमा लिइन्छ भने सूर्यमान अनुसार जुन २१ लाई । संजोग भनौं अथवा अरु केही, यी दुवै लामा दिनहरुको सम्बन्ध संगीत र सांगितिक गतिबिधिसँग जोडिएको छ ।

जुन २१ मा पनि विश्वभरी विभिन्न सांगितिक कार्यक्रमको आयोजना गर्ने गरिन्छ भने जेठ पुर्णिमाको दिन पनि संगीतसँग जोडिएको छ । जेठ पुर्णिमाको दिनलाई राष्ट्रिय संगीत दिवसको रुपमा घोषणा गर्नुपर्ने माग आज उठेपनि यो दिन संगीतसँग जोडिन पुगेको ३८७ वर्ष भइसकेको छ ।

जेष्ठ पूर्णिमाको दिन ललितपुरको मंगलबजारमा राजा सिद्धिनरसिंह मल्लले रचेको ३१ वटा गीतसहित मेघमल्हार राग गाउने गरिन्छ । यो परम्परा ने.सं ७५६ (बि.सं १७०२) मा सुरु भएको हो । त्यो आधारमा जेष्ठ पूर्णिमाको दिनलाई काठमाडौं उपत्यकामा विगत ४ सय बर्षदेखि संगीत दिवसको रुपमा मनाईँदै आएको छ भन्न सकिन्छ । जेठ पुर्णिमाको दिनलाई स्थानीय भाषामा ज्याःपुन्हि भन्ने गरिएको छ ।

सो कार्यक्रममा मैयाँ महर्जन, संमुक्ता शर्मा, अंकिता शर्मा, बिनिता महर्जन, सहिरा महर्जनलगायतका नृत्य कलाकारले कुमारी साथै आधुनिक नृत्य प्रस्तुत गरेका थिए ।

त्यस्तै यल माया केन्द्रबाट बाबुराजा श्रेष्ठ, मिन घलान, चिहिरो तमुरा, सुमन राना मगर, उदय श्रेष्ठ, बिनोद विकबाट सामूहिक बाँसुरी वादन र सामिप्य डंगोलबाट शास्त्रीय बाँसुरी वादन प्रस्तुत गरिएको थियो ।

गायकहरु सानु तामाङ, निल शाक्य, गायत्री राना मगर र कुमार राना मगर, कृष्ण पराजुलीले शास्त्रीय गीत, नेपालभाषाको गीत, कौडा गीत र आधुनिक गीत प्रस्तुत गरेका थिए ।

Categorized in साहित्य-कला