STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भक्तपुरमा ९५ प्रतिशत संक्रमित होम आईसोलेसनमा, सङ्क्रमण र मृत्युदर बढ्दै

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ ८, शनिबार

भक्तपुरमा कोभिड– १९ को सङ्क्रमण र मृत्युदर बढ्दै गएको छ । सङ्क्रमणमा परेकामध्ये ९५ प्रतिशत होमआईसोलेसनमा छन् ।

कोरोना भाइरस सङ्क्रमणकै कारण भक्तपुरमा बिहीबार एकैदिन १४ जनाको ज्यान गयो । शुक्रबारसम्म २७१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।

नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमण फैलिएसँगै भक्तपुरमा सङ्क्रमण र मृत्युको सङ्ख्या बढ्दै गएको कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

उनका अनुसार भक्तपुरमा अहिलेसम्म १७ हजार ५७६ कूल सङ्क्रमित रहेकामा ४ हजार ५५५ सक्रिय सङ्क्रमित छन् । अस्पताल तथा विभिन्न आईसोलेसनमा २३९ सङ्क्रमित छन् । होमआईसोलेसनमा ४ हजार १३४ संक्रमित छन् । अहिलेसम्म १२ हजार ९९० सङ्क्रमित निको भएका छन् ।

सङ्क्रमणका कारण भक्तपुरमा एकैदिन १४ जनासम्मको मृत्यु भएको छ । गएको दुई सातादेखि भक्तपुरमा लगातार सङ्क्रमितको मृत्यु भइरहेको छ । अस्पताल तथा स्वास्थ्य संस्थामा सङ्क्रमितले शय्या पाउन सकिरहेका छैनन् । शय्या नभएर कतिपय बिरामीलाई अस्पतालको गेटबाटै फर्काउने गरिएको मिजार बताउँछन् ।

अस्पतालमा रहेकाहरूको पनि अक्सिजन अभाव भएर समस्या आएको छ ।

सक्रिय सङ्क्रमित र मृत्युमध्ये सबभन्दा धेरै मध्य पुरथिमि, त्यसपछि सूर्यविनायक, त्यसपछि भक्तपुर नगरपालिकामा रहेको छ भने चाँगुनारायण नगरपालिकामा यी अनुपातमा ५० प्रतिशत सङ्क्रमण र मृत्युदर कमी रहेको छ । जिल्लामा ४ हजार ५५५ सक्रिय सङ्क्रमित रहेकामध्ये विभिन्न आईसोलेसन केन्द्रमा र होमआईसोलेसनमा भने ४ हजार २५६ रहेका छन् । सङ्क्रमितमध्ये ९५ प्रतिशत होमआईसोलेसनमा रहेको उनको भनाइ छ । उनका अनुसार सङ्क्रमितमध्ये अस्पतालबाट निको भएर फर्कनेको सङ्ख्या ७१ प्रतिशत रहेको छ ।

सङ्क्रमणका कारण कोभिडको उपचार गराइरहेका भक्तपुरका सबै अस्पतालका शय्या भरिएका छन् । अक्सिजन नहुँदा भर्ना भएका बिरामीको उपचारमा पनि निकै समस्या आएको छ ।

भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले सबै शय्या कोरोना सङ्क्रमित बिरामीले भरिएको बताइन् । उनले अक्सिजन र स्वास्थ्य सामग्रीको व्यवस्था गर्न सके अस्पताल आएका सबै बिरामीको उपचार सहज हुने उल्लेख गरिन् ।

Categorized in स्वास्थ्य-मौसम