STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भक्तपुरमा ६५ प्रतिशत रोपाइँ सकियो

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ४, बिहिबार

कोरोना जोखिमका बीच यहाँ किसानलाई रोपाइँको चटारो परेको छ । हरेक वर्ष असारको पहिलो सातापछि रोपाइँ शुरु हुने यहाँ यस वर्ष असारको पहिलो साता नै रोपाइँको अन्तिम चरणमा पुग्ने भएको छ । यस वर्ष मनसुन सक्रिय हुनुअघि नै पर्याप्त वर्षा भएपछि कोरोनाको त्रास र लकडाउनबीच गत जेठ १५ देखि नै शुरु भएको रोपाइँ अन्तिम चरणमा पुगेको छ । विगतका वर्षझैँ रोपाइँ ढिलो हुने सोचले ढिलो बीउ राखेका किसानले खेतमा पानी भरिएपछि छोटो बीउसमेत रोप्न थालेका छन् । सूर्यविनायक नगरपालिका–१० चित्तपोलका राजेन्द्र थापाले यस वर्ष चित्तपोल, भङ्गाल क्षेत्रको रोपाइँ सकिन लागेको बताउनुहुन्छ । जेठमै पर्याप्त पानी वर्षा भएपछि लकडाउनकै बेलामा किसानले रोपाइँ शुरु गरेको जानकारी दिनुभयो । लकडाउनका बेलामा बीउ किन्न समस्या भए पनि नगरपालिकाले किसानलाई अनुदानमा बीउ वितरण गरेको र कतिपय किसानले आफ्नै घरमा बीउ सञ्चित गरी राखेकाले बीउको अभाव नभएको उहाको भनाइ छ । जिल्लाका अधिकांश काठ क्षेत्रमा रोपाइँ सकिएको छ भने बजार क्षेत्रमा धमाधम रोपाइँको चटारो परेको छ । चाँगुनारायण नगरपालिका–९ ताथलीका सानुभाइ गिरी यसवर्ष रोपाइँ चाँडो हुँदा रोपाइँ सकिने अवस्थामा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष सिमखेतमा जेठमै रोपाइँ भयो, कुलो नलाग्ने र आकाशेपानीको भर पर्नुपर्ने खेतमा पनि पानी भरिएका छन्, ढिला बीउ राख्नेहरुले छोटो बीउ रोप्न थालेका छन्, धेरैले रोपाइँ सकिसके, बाँकी भएकालाई पनि रोपाइँको चटारो छ ।” सूर्यविनायक नगरपालिका–८ सिपाडोलका श्यामलाल श्रेष्ठले सिपाडोल क्षेत्रका किसानलाई रोपाइँको चटारो परेको छ भन्दै रोपाइँमा खेताला नपाउँदा अझै ढिला भएको बताउनुभयो । यस वर्ष धान दिवस अर्थात् असार १५ सम्म भक्तपुरका सबै ठाउँमा रोपाइँ सकिने जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल बताउनुहुन्छ । चार हजार ६४८ हेक्टर जमिनमा धान रोपाइँ हुने गरेको छ । यहाँ प्रतिहेक्टर छ दशमलब दुई टन धान उत्पादन हुने गरेको तथ्याङ्क छ । कोरोनाको त्रासलाई छिचोल्दै किसानले रोपाइँ गरेका हुन् । चानपा–८ सुडालका किसान रामप्यारी कार्कीले वर्ष दिनभरि खान धान फलाउने बेलामा कोरोनासँग डराएर खेती बाँझै राख्न नहुने बताउँदै कोरोनाको डरलाई हटाए्र खेतमा काममा सबै व्यस्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “लकडाउनले यस वर्ष रोपाइँलाई धेरै सजिलो बनायो, वर्षा पनि जेठमै शुरु भयो, जेठमै आली लाएर खेतभरि पानी जमाउन पाइयो, सबै बन्द भएकाले घरभरि भएका मानिस पनि रोपाइँमा जान पाए, रोपाइँमा यस वर्ष लकडाउनले सजिलो बनायो ।” चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले आफ्नो नगरपालिका क्षेत्रमा रोपाइँ सकिन लागेको बताउनुभयो । उहाँका अनुसार यस वर्ष नगरपालिकाले धानको बीउ ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएको र मल पनि समयमै विभिन्न निकायले वितरण गरेकाले सहज र छिटो रोपाइँ सकिन लागेको छ । सूर्यविनायक नगरपालिकाका प्रम्ुख वासुदेव थापाले पनि सूर्यविनायकका सबै क्षेत्रमा रोपाइँ सकिन लागेको बताउनुभयो । यस वर्ष धानको उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको बताउँदै मनसुन सक्रिय हुनुअघि नै रोपाइँ सक्नु किसानका लागि खुशीको कुरा भएको बताउनुभयो । भक्तपुर र मध्यपुरथिमि नगरपालिकाका अधिकांश क्षेत्रमा पनि रोपाइँ सकिन लागेको छ ।

रासस

Categorized in उपत्यका