STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बुधबारदेखि देशव्यापी कोरोनाविरुद्धको खोप अभियान, पहिलो खोप टेकु अस्पतालका निर्देशक राजभण्डारीलाई

Janjati Khabar – Janjati Khabar | २०७७ माघ १३, मंगलबार

काठमाडौँ – सरकारले बुधबारदेखि देशव्यापी रूपमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरू गर्दैछ ।

कोरोना भाइरसविरूद्धको पहिलो खोप टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाउने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे काठमाडौंको तीन वटा अस्पतालमा भर्चुअल विधिबाट एकैचोटि खोप अभियानको उद्घाटन गर्ने कार्यक्रम छ । जसमा टेकु अस्पताल, टिचिङ अस्पताल र एपिएफ अस्पताल छन् ।

निर्देशक राजभण्डारीले तीन वटा अस्पतालमा एकैपटक खोप लगाउन सुरू गरिए पनि सुरूमा टेकु अस्पतालमा लगाइने जानकारी दिए ।

उनले आफूसहित टेकु अस्पतालका सबै स्वास्थ्यकर्मीले खोप लगाउने बताए ।

अस्पतालले बनाएको खोप लगाउने सूचीमा निर्देशक राजभण्डारी पहिलो नम्बरमा छन् । त्यसपछि सरूवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले खोप लगाउने छन् ।

अहिले खोपलाई लिएर केही नकारात्मक सन्देशहरू पनि आइरहेकाले निर्देशक राजभण्डारीले आफूले सुरूमा खोप लगाएपछि सकारात्मक सन्देश प्रवाह हुने बताए । स्वास्थ्यकर्मीहरू पनि अन्यौलमा देखिएको र यसरी आफूले सुरूमा खोप लगाएपछि अन्य स्वास्थ्यकर्मीहरूले लगाउने बताए ।

उनले टेकु अस्तपालबाट झन्डै २५ सय जना फ्रन्टलाइनरर्सलाई खोप लगाइने जनाए । जसमा अस्पतालका स्वास्थ्यकर्मी, काठमाडौं महानगरपालिका स्वास्थ्यकर्मी र सफाइकर्मी रहेको निर्देशक राजभण्डारी बताउँछन् ।

उनले बिहान १० बजेदेखि २ बजेसम्म खोप सेवा प्रवाह गरिने बताए ।

सरकारले बुधबारदेखि देशव्यापी रूपमा खोप अभियान सुरू गर्न लागेको हो। त्यसका लागि सातै प्रदेशमा खोप पुर्याइएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

विभाग अन्तर्गतको खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले ४ लाख ३० हजार जनालाई खोप लगाउने तयारी रहेको बताए।

सरकारले भारतबाट अनुदानमा आएको १० लाख डोज खोप सुरूमा स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा खटिने कर्मचारीलाई लगाउन लागेको हो।

Categorized in स्वास्थ्य-मौसम