STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बुद्धजयन्तीको अवसरमा प्रधानमन्त्री र प्रचण्डको शुभकामना

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ २, सोमबार

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्धजयन्तीका अवसरमा विश्वमा शान्ति, अहिंसा, सहअस्तित्व, सहिष्णुता, भ्रातृत्व र विश्व बन्धुत्वको भावना प्रवद्र्धन होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा २५६६औँ बुद्ध जयन्तीका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा समग्र मानव समुदायमा एकता र पारस्परिक सम्मान अभिवृद्धि गर्न सबैलाई उत्प्रेरणा प्रदान गरोस् भन्ने कामनाका साथ सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सन्देशमा भनिएको छ, “विश्वमा शान्ति, अहिंसा र करुणाको सन्देश फैलाउने शान्तिका अग्रदूत गौतम बुद्धको २५६६औँ जन्मजयन्तीको पुनीत अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तथा बौद्ध धर्मावलम्बी समुदायमा सुख, शान्ति र प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

वैशाख शुक्ल पूर्णिमा गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणजस्ता तीनवटा महत्तवपूर्ण घटनाहरू घटेको पवित्र दिनका रूपमा प्रसिद्ध भएको र यस दिनले परापूर्वकालदेखि नै शान्ति, अहिंसा, सद्भाव, दया, करुणा र आत्मबोधको मार्गतर्फ अघि बढ्न उत्प्रेरित गर्दै आएको सन्देशमा छ ।

“गौतम बुद्ध नेपालका राष्ट्रिय विभूति हुन, उनको शिक्षा र उपदेश समग्र मानव समुदायका लागि अहिले पनि उत्तिकै सान्दर्भिक, उपयोगी र शाश्वत रहेका छन,” सन्देशमा भनिएको छ, “भगवान् बुद्धले दुःख र शोकबाट मुक्ति हुनका लागि उपदेश गर्नुभएको चार आर्य सत्य र आर्य अष्टाङ्गिक मार्ग सबै पिँढीका मानव मात्रका लागि उपयोगी र अवलम्बनीय उपायका रूपमा रहेका छन ।” सन्देशमा  बुद्धको शिक्षा र सन्देशलाई व्यावहारिक जीवनमा उतारी जीवनलाई सुखमय र शान्तिमय बनाउन सक्नुपर्ने उल्लेख छ ।

यसैगरी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६६ औँ बुद्ध जयन्तीका अवसरमा सामाजिक ऐक्यबद्धता, पारस्परिक सम्मान एवं सद्भावले नै समाजको सामूहिक विकास र समृद्धिमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डले आज जारी गर्नुभएको शुभकामना सन्देशमा गौतमबुद्धको २५६६औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण बौद्ध धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै उक्त कामना गर्नुभएको हो ।

“नेपाली समाज विविधताले भरिपूर्ण एकताबद्ध र सहिष्णु समाज हो, समाजको विकास पनि एकापसका सामुदायिक भावनाहरूको सम्मानले नै हुने गर्छ,” सन्देशमा भनिएको छ, “सामाजिक ऐक्यबद्धता, पारस्परिक सम्मान एवं सद्भावले नै समाजको सामूहिक विकास र समृद्धिमा अघि बढ्न प्रेरणा मिल्दछ ।”

नेपालको भूमिमा जन्मेर शान्तिका दूत गौतमबुद्धले प्राप्त गर्नुभएका ज्ञान आजसम्म सान्दर्भिक र जीवनोपयोगी भएको र बुद्धका विचारले विश्व शान्ति र मानव कल्याणका लागि आज पनि उत्तिकै महत्व रहको उल्लेख छ ।

“सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सफल कार्यान्वयनका क्रममा अहिले हामी स्थानीय तह सदस्य निर्वाचनको मतगणनाको चरणमा छौँ,” सन्देशमा भनिएको छ, “छिट्पुटका घटनाबाहेक निर्वाचनमा देशभरबाट भएको जनताको उत्साहप्रद सहभागिताले लोकतन्त्रको सबलीकरणमा मद्दत मिलेको छ ।”

अध्यक्ष प्रचण्डले प्रतिगामी प्रतिक्रियावादी शक्तिलाई परास्त गरी जनताको बलमा गठन भएको वर्तमान पाँच दलीय गठबन्धन सरकारले एकै चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गरी लोकतन्त्र र संविधानका विरुद्ध हुन खोज्ने प्रतिगमनकारी षडयन्त्रलाई निस्तेज पार्न सफल भएको बताउनुभएको छ । 

त्यसैगरी, अध्यक्ष प्रचण्डले आजकै दिन परेको किरात समुदायको प्रमुख चाड उभौली पर्व तथा चण्डी पूर्णिमाका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

Categorized in राष्ट्रिय