STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बीमा सेवा लिने बढे

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ६, शुक्रबार

स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि पाल्पा रामपुरको कालीगण्डकी आँखा उपचार केन्द्रमा बिरामी बढी आउन थालेका छन् । बिरामीको सेवालाई मध्यनजर गर्दै तीन महीनाअघि देखि स्वास्थ्य बीमा सेवा शुरु भएपछि बिरामी पछिल्लो समय बढेको पाइएको छ । दैनिक २०÷२२ जना आँखा उपचारका लागि आउने गरेकामा बीमा कार्यक्रम शुरु गरेपछि हाल ६० को हाराहारीमा बिरामी आउन थालेको आँखा उपचार केन्द्रका अध्यक्ष हुतराज पोखरेलले बताउनुभयो । “बीमाको सुविधा दिन थालेपछि बिरामी तेब्बरले बढिरहेका छन्, पहिले नै बीमा कार्यक्रम शुरु गर्ने भनिएपछि विभिन्न प्रक्रिया मिलाउनु पर्दा ढिलो भए पनि स्वास्थ्य बीमा कार्यक्रम शुरुआत गरेका छौैँ”, अध्यक्ष पोखरेलले भन्नुभयो । बीमा कार्यक्रमले गरीब, विपन्न परिवारलाई उपचारमा ठूलो राहत पुगेको रामपुर नगरपालिका–५ का सीतादेवी लम्साल बताउनुहुन्छ । “उपचार नै गर्न नसकेर आँखाको समस्या भए पनि कतिपय अस्पतालमा जाँच गर्न नजाने गर्थे, बीमा शुरु भयो भनेपछि बिरामी अस्पतालप्रति आकर्षित भएका छन्”, उहाँले भन्नुभयो । बीमा कार्यक्रम लागू भएपछि निःशुल्क औषधि उपचार सेवा पाएकामा रामपुर नगरपालिका–३ रजघराका खुमबहादुर थापा क्षेत्रीले खुशी व्यक्त गर्नुभयो । “आँखा जाँच चस्मा, औषधि उपचार गर्दा थोरै भनेपछि एक पटकमा रु एक हजार पाँच सयसम्म खर्च हुन्थ्यो, अहिले बीमा कार्ड लिएर गएपछि सबै निःशुल्क पाइएको छ”, उहाँले भन्नुभयो । नेपाल सरकारले बीमामार्फत तोकेबमोजिमका सबै सेवा बिरामीलाई दिइएको छ । २०७६ साल वैशाख २० गतेबाट बीमा कार्यक्रम शुरुआत गरिएको हो । बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको छ । अस्पतालले हरेक महीना गर्ने बृहत् आँखा शल्यक्रिया शिविरमा पनि बीमा गरेपछि सेवा लिने ह्वात्तै बढेका छन् । शिविरमा बढीमा एक सयको हाराहारीमा बिरामी आउने गरेकामा अहिले तीन सयको हाराहारीमा बिरामी आँखा जाँच तथा शल्यक्रियाका लागि आउने गरेको केन्द्रले जनाएको छ ।
Categorized in राष्ट्रिय