STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बिहीबार रानीपाेखरीकाे बालगोपालेश्वर मन्दिरमा गजुर प्रतिस्थापन गरिने

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन १२, सोमबार

काठमाडौं – रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा आउँदो बिहीबार गजुर प्रतिस्थापन गरिने भएको छ । बालगोपालेश्वर मन्दिरमा आज साेमबार नै गजुर प्रतिस्थापन गर्ने तयारी भए पनि अन्तिम समयमा आएर स्थगित भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणका सम्पदा विज्ञ एवं रानीपोखरीको पुनर्निर्माणको काम हेर्दै आएका राजुमान मानन्धरका अनुसार ठेकेदार कम्पनीको ढिलाइले अन्तिम समयमा आएर गजुर राख्ने काम रोकिएको हो । अहिले रानीपोखरीको नजिकै रहेको दरबार हाइस्कुलको एउटा कोठामा गजुरमा जलप लगाउने काम भइरहेको छ । सीएम तुलसी कन्स्ट्रक्सन जेभीले बालगोपालेश्वर मन्दिर पुनर्निर्माणको काम गरिरहेको छ । सीएम तुलसी कन्स्ट्रक्सन जेभीसँग गएको असार २४ गते मन्दिर, पुल र पोखरी बाहिरको काम गर्ने गरी १५ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । उपभोक्ता समितिले १० करोड र निर्माण व्यवसायीले १५ करोड गरी झण्डै २५ करोड रुपैयाँमा रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम थालिएको थियो । गएको वैशाख १२ गते रानीपोखरी उद्घाटन गर्ने कार्यक्रम रहे पनि कोरोना सङ्क्रमण जोखिमका कारण सरकारले लकडाउन गरेपछि उद्घाटन हुन सकेकाे छैन । पुनर्निर्माण भएको बालगोपालेश्वर मन्दिर ग्रन्थकुट (शिखर) शैलीमा बनेको छ । बालगोपालेश्वर मन्दिर प्रताप मल्लको पालामा ग्रन्थकुट शैलीमा बनेको थियो । तर १९९० सालको भूकम्पले क्षति गरेपछि गुम्बज शैलीमा बनाइएको थियो ।२०७२ सालको भूकम्पअघि बालगोपालेश्वर मन्दिर गुम्बज शैलीको थियो । अहिले पुनर्निर्माणका क्रममा विज्ञहरुको राय लिएर मल्लकालीन अर्थात ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको हो ।

Categorized in उपत्यका