STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बिस्केट जात्राको लागि भैरवको रथ निर्माण थालियो

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २१, बुधबार

काठमाडौं– भक्तपुरको बिस्केट जात्राको लागि भैरवको रथ निर्माण थालिएको छ । वर्षेनी चैत २७ गतेदेखि ८ रात ९ दिनसम्म मनाइने बिस्केट जात्रा भक्तपुरको प्रसिद्ध एवं लोकप्रिय जात्रा हो । यही जात्राको पहिलो दिन टौमढी टोलमा भैरवको रथ बनाएर माथिल्लो टोल (थःने) र तल्लो टोल (क्वःने) दुवैतिर तान्ने गरिन्छ । यस दिनलाई ‘देउता तल विराजमान हुनुभएको’ (द्यः कुहांबिज्याःगु) भनिन्छ । यस दिन भैरवको मन्दिरमा भैरवलाई पूजाआजा गरी बलि चढाएर रथमा विराजमान गराइन्छ । यस वर्ष नयाँ काठहरुको प्रयोगबाट रथ निर्माण हुँदैछ । नेपाल भ्रमण वर्ष र भक्तपुर महोत्सव पनि मनाउने भएकोले यस वर्ष भक्तपुर नगरपालिकाले भैरवको रथ निर्माणमा नयाँ काठ उपलब्ध गराएको नगर प्रमुख सुनील प्रजापतिले बताएका छन् । बिस्केट जात्रा हेर्न आउनेकालाई यसपटक भैरवको नयाँ रथ देखाउन नयाँ पाङ्ग्रा पनि तयार गरिँदैछ । बिस्केट जात्राको अर्को पक्ष यःसिँ उठाउने जात्राको लागि पनि नालाबाट यःसिँ ल्याउने तयारी हुँदैछ । चैत ३० गते यःसिँ उठाइने र वैशाख १ गते साँझ उक्त यःसिँ ढालिन्छ । यसको लागि थासिँ नामक रुखको मूढालाई नालाबाट तानेर ल्याइन्छ । बिस्केट जात्राको भैरवको रथ यःसिँ खेलमा पुगेपछि यःसिँ ढालिने चलन छ । सौर्यमासअनुरुप हुने यो जात्रा परापूर्वकालमा एउटा वंशको अन्त्य र अर्को वंशको सुरुवात भएपछि विजय उत्सव मनाउन विश्वध्वजाको रुपमा ३२ हातको दुईटा झण्डा फर्फराएर जात्रा थालिएको जनविश्वास छ ।
Categorized in उपत्यका