STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बिरामीको सही जानकारी नदिँदा निदान अस्पतालबाट यसरी फैलियो कोरोना भाइरस

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ३०, शुक्रबार

ललितपुरको पुल्चोकस्थित निदान अस्पतालले बिरामीको सही जानकारी नदिँदा कोरोना भाइरसको संक्रमण फैलाएको गम्भीर आरोप खेप्न पुगेको छ । बिरामीबारे जानकारी दिँदा अस्पतालमा अन्य बिरामी नआउने भय हुने भन्दै प्रशासनले चलाखी गर्न खोज्दा त्यहाँका तीन जना स्वास्थ्यकर्मीसमेत संक्रमित भएका छन् । निदानमा पाँच जनामा संक्रमण भएको स्रोतले बताएको छ । अहिले निदानमा तीन जना संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ । घटना कसरी भयो ? निदान अस्पतालले किड्नी ट्रान्सप्लान्टदेखि डाइलासिस गर्दै आएको छ । उक्त क्रममा ट्रान्सप्लान्टका बिरामी नवाज होडा अन्सारी अस्पताल पुगे । उनले आफू काठमाडौं उपत्यका बाहिर कहीं पनि नगएको बताएर अस्पतालमा भर्ना भए । तर उनी बाहिरबाटै आएका थिए । यसमा अस्पतालले हेक्का गरेन । उनलाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो । त्यहीं उपचार गराउन पुगे ललितपुरका ३३ वर्षीय महेश महर्जन पनि । महेश किड्नी डाइलासिसका बिरामी हुन् । उनी केही दिनको उपचारपछि घर फर्के । तर होडाको कोरोना भाइरसको परीक्षण भयो । अस्पतालले होडाको आशंकालाई लुकायो । उक्त परीक्षणको पीसीआरको नतिजा आइसक्दासम्म अस्पतालका अन्यमा पनि सरिसकेको थियो । होडालाई त्यहाँ राख्न सकेन अस्पतालले । काठमाडौंका अन्य अस्पतालमा पनि बेड नपाएपछि होडा रातारात आफ्नो निजी सवारी साधनमा विराटनगर पुगेर उपचार गराइरहेका छन् । डाइलासिसका बिरामी महेश महर्जन फेरि अस्पतालमा भर्ना हुन आए । उनलाई अस्पतालले आइसीयूमा राख्यो । महंगो चार्ज गर्दै उनी आइसीयूमा बसे । उनमा पनि तिनै होडाबाट कोरोना सर्यो । अस्पतालले त्यसलाई पनि लुकाउन खोज्यो । अस्पतालले महर्जनलाई १५ दिन आइसीयूमा राख्यो । उनकी श्रीमती रबिना महर्जनका अनुसार २० दिन उनी अस्पताल बसे । १५ दिन आइसीयूमा राख्दा एक दिनको १२ हजार रुपैयाँ अस्पतालले चार्ज लगायो । अस्पतालले आइसीयुमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म आइसीयूमा बस्दा उक्त महंगो चार्ज तिरेका थिए । कोरोना लागेको भन्ने भएर पनि अस्पतालले निमोनिया भएको बिरामीलाई कोरोना देखिन्छ भन्दै रबिना र महेशका परिवारलाई जवाफ दिँदै आयो अस्पतालले । कोरोना लागेकालाई सरकारले उपचार गर्ने भए पनि निदानले आफूले महंगो रकम असुल्न पाएर नियोनिया भएको बिरामी भन्दै राखेको स्पष्टै बुझिन्छ । रबिना आफ्नी ८ महिनाकी छोरी लिएर घरमै छिन् । बुधबारमात्र महेशलाई पाटन अस्पतालमा सारिएको छ । उनले रुँदै भनिन्, ‘८ महिनाकी छोरी काखमै छ । पाटन जान पाइँदैन । जम्मा ३३ वर्षका हुनुहुन्छ । अस्पतालले थुप्रै मान्छेलाई निको भको छ भन्छ । के हो के ।’ होडा संक्रमित भएर गएपछि महर्जन हुँदै अस्पतालका पाँच जनामा कोरोना फैलियो । महर्जन पाटन गए । होडा पहिले नै विराटनगर गएका थिए । अस्पतालकै पाँच जना स्वास्थ्यकर्मीमध्ये दुई जनालाई सशस्त्र प्रहरी अस्पतालमा लगियो । तीन जना निदानमै उपचाररत रहेका छन् । अस्पताल प्रशासनले पीपीई लगायतको स्वास्थ्य सामग्रीको प्रवन्ध नगरेपछि पाँच जना आफ्ना स्वास्थ्यकर्मीलाई कोरोना भएको समेत स्वीकार्न तयार छैन । होडालाई कोरोना भइसकेपछि कति जना अस्पतालमा आए तिनीहरुको कन्ट्रयाक्ट ट्रेसिङ गर्नुपर्ने विषयमा अस्पताल मौन छ । उसको लापरवाहीले गर्दा कोरोना समुदायमा फैलने प्रवल सम्भावना छ । बिरामीको बारेमा सही ढंगले बाहिर नभनिएपछि यति ठूलो अपहाध हुँदासमेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मौन बसेको छ । जागिरको डरले केही बोल्न नसके पनि निदानका स्वास्थ्यकर्मीहरु अहिले छट्पटाइरहेका छन् । उनीहरुले पीपीई लगायतका स्वास्थ्य सामग्रीमा जोड दिएका छन् । समाचार साभार - हाम्रो कुरा डटकम
Categorized in उपत्यका