बालुवा, ढुंगा झिक्न वा बहाब क्षेत्र सफा गर्न कीर्तिपुर र ललितपुर सक्षम छ : नेकपा माओवादी केन्द्र कीर्तिपुर
Janjati Khabar – ललेन्द्र शाक्य | २०८२ आषाढ ११, बुधबार
कीर्तिपुर/ललितपुर महानगरपालिका १८ वडा र कीर्तिपुर नगरपालिका ६ वडाबीच सीमानाको रुपमा रहेको ऐतिहासिक चोभार गल्छी न्हसिकापको दायाँबायाँका चट्टान ढुंगाहरु काटेर विष्फोट गराएर बागमती खोला फराकिलो गर्ने निर्णय नेपाल सरकार गृहमन्त्रालय एवं शहरी विकास मन्त्रालयले गरेको समाचार बाहिरिएको छ ।
सरकारको यो निर्णयलाई विरोध गर्दै नेकपा माओवादी केन्द्र कीर्तिपुर नगर समितिले एक प्रेस विज्ञप्ति सार्वजनिक गरी चोभार गल्छी न्हसिकापको सम्बन्धमा सरकारलाई ध्यानाकर्षण गराइएको छ ।
असार ९ गते सोमबार नेकपा माओवादी केन्द्र कीर्तिपुर नगर समितिका अध्यक्ष बैकुण्ठ महर्जन तथा इञ्चार्ज हिराबहादुर महर्जन हस्ताक्षरित उक्त सार्वजनिक भएको प्रेस विज्ञप्तिमा कीर्तिपुर नगरपालिका वडा नम्बर ६ मा रहेको चोभार गल्छी न्हसिकाप कीर्तिपुर नगरपालिकाको मात्र नभई नेपालकै एक जीवन्त प्राकृतिक, धार्मिक, पौराणिक तथा सांस्कृतिक सम्पदा भएको ठहर गरिएको छ ।
बाढी एवं डुबानको नाममा बागमती खोलालाई फराकिलो गर्ने नेपाल सरकारले निर्णय गरेको र त्यस्को जिम्मेबारी नेपाली सेनालाई दिइएको भन्ने विभिन्न संचारमाध्यमहरुमार्फत् आएको समाचारबाट नगरबासीहरुमा ब्यापक त्रास मिश्रित आक्रोश छाएको परिस्थितिमा नेकपा माओवादी केन्द्र कीर्तिपुर नगर समितिको गम्भीर ध्यानाकर्षित भएको सार्वजनिक विज्ञप्तिमा भनिएको छ ।
माओवादी केन्द्र कीर्तिपुर नगर समितिद्वारा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, “कुनै अध्ययन तथा सरोकारवालाहरुको सहभागिता विना ललितपुर महानगरपालिका तथा कीर्तिपुर नगरपालिकाको सीमानाका रुपमा समेत रहेको गल्छी काटेर भत्काएर चौडा पार्ने कार्य कुनै पनि हालतमा जायज तथा आवश्यक नरहेको तथ्य विभिन्न बुँदाका आधारमा स्पष्ट पार्ना चाहन्छौं । जहाँसम्म बागमतीको बहाव क्षेत्रमा जम्मा भएको ढुंगा, बालुवा, माटो हटाउने वा सफा गर्ने विषय छ, त्यसका लागि नगरपालिका तथा महानगरपालिका नै सक्षम रहेको र यसको क्षेत्राधिकार समेत स्थानीय सरकार मातहत नै रहेको तथ्य समेत स्मरण गराउन चाहन्छौं । अतः उपत्यकाको एक महत्वपूर्ण ऐतिहासिक तथा पुरातात्विक धरोहरका रुपमा रहेको चोभार गल्छीको संरक्षण तथा प्रवद्र्धनका लागि नगर पार्टी समिति सदैव प्रतिबद्ध रहेको ब्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराउँदछौं ।”
नेकपा माओवादी केन्द्र कीर्तिपुर नगर समितिले सार्वजनिक गरेको विज्ञप्तिमा बिभिन्न बुँदाहरु उल्लेख गरी ध्यानाकर्षण गरिएको छ –
१. हजारौंवर्ष अगाडिदेखि बाढी र डुबानका लागि गल्छी बाधक नबनेको, अहिले पनि बनेको छैन ।
२. बागमती सहित सबै नदी तथा खोला किनारमा कोरिडोर निर्माण गरेको, खोलालाई तोकिएको मापदण्ड भित्र सीमित गरेको कारण बाढी र डुबान भएको हैन र रु
३. प्राकृतिक तथा सांस्कृतिक सम्पदा गल्छी एवं एसियाको दोस्रो लामो गुफा, मञ्जुश्री गल्छीको अस्तित्व हराउने गरी गल्छी चौडा पार्ने काम गर्न मिल्दैन र हुँदैन ।
४. गल्छी चौडा बनाउँदा उपत्यका भित्र चार गणेशमध्ये जेठो जलविनायक मन्दिर समेत पुरै संकटमा पर्दछ, अतः गल्छी फराकिलो पार्ने काम हुनै सक्दैन । गर्न मिल्ने हैन ।
५. विगत ४० वर्षभित्र मात्र पनि गल्छीमा बागमती १५ फिटभन्दा बढी गहिरिएको छ, त्यसकारण पनि चोभार गल्छी हाल हल्ला गरिए जस्तो बागमतीको बाढी र डुबानको कारण हैन, हुन सक्दैन ।
६. प्रकोप पूर्व तयारीका लागि बागमतीको बालुवा, ढुंगा झिक्न वा बहाब क्षेत्र सफा गर्न कीर्तिपुर नगरपालिका र ललितपुर उपमहानगरपालिका सक्षम छ, सिंहदरबारको सरकार आवश्यक नपर्ला कि रु
७. साँच्चिकै बागमतीको बहाब क्षेत्र फराकिलो बनाउने हो भने बागमतीको मुहान बागद्वारदेखि र विष्णुमती, नखु, मनोहरा, हनुमन्ते, मूलखुसि वा बल्खु खोला, कर्मनाशा लगायतका खोलाका मुहानदेखि चौडा चोभार गल्छीसम्म चौडा पार्न आवश्यक पर्ला कि रु
८. गल्छीको पूर्वतिर पुरानो बस्ती तथा मन्दिरहरु रहेको हुँदा गल्छी फराकिलो बनाउँदा धरापमा पर्नेछ ।
९. गल्छी फराकिलो बनाउने विषय प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनको पनि प्रतिकुल छ ।
स्मरणीय रहोस, चोभारको गल्छी न्हसिकापको इतिहास एवं ऐतिहासिकतालाई नियाल्ने हो भने उपत्यका पहिले एक विहाल दहको रुपमा रहेको समय मञ्जुश्रीबाट आफ्नो खड्ग प्रहार गरी उक्त दहको पानी बाहिर पठाएको इतिहास रहेको छ । मञ्जुश्रीबाट खड्ग प्रहार गरेको स्थान नै चोभार गल्छी अर्थात् न्हसिकाप हो ।
यस्तै, काठमाडौं उपत्यकाको दहभित्र बासुकी नागराज विराजमान भएको र मञ्जुश्रीले न्हसिकाप चोभार गल्छी काटेर पानी बाहिर पठाएको समय बासुकी नागराजको सुरक्षाका लागि तौदह अर्थात् तःदहमा बासुकी नागराजलाई विराजमान गराइएको इतिहास पनि रहेको छ ।
मञ्जुश्रीले यसरी आफ्नो खड्गबाट चोभार गल्छी न्हसिकापबाट पानी बाहिर पठाई सकेपछि उपत्यकाभित्र बस्ती बसाल्न सफल भएको एवं उपत्यकाको उत्पत्ति भएको हो भन्ने इतिहास पनि छ ।
यसरी काठमाडौं उपत्यका उत्पत्तिका साथै मञ्जुश्री, बासुकी नागराजको समेत सम्बन्ध रहेको चोभार गल्छी न्हसिकापको ढुंगा काटी बागमती खोला चौडा फराकिलो गर्नु भनेको उपत्यकाको इतिहासलाई नष्ट गर्नु हो भन्ने तर्क सरोकारवालाहरुले राखेका छन् ।
Categorized in उपत्यका

