STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बालविवाहलाई वैधानिकता दिन्छन् स्थानीय निकाय

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ९, बिहिबार

हुम्लाका ग्रामीण बस्तीहरुमा अझै बालविवाह हुने गरेको छ । उमेर नपुग्दै सानै उमेरमा बालबालिका प्रेममा परेर विवाह गर्ने पाइएको छ । जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केघाड गाउँपालिका–८ का वडाध्यक्ष ट्यारे रोकायाले बालविवाहलाई वैधानिकता दिनुभएको छ । सर्केगाड गाउँपालिका–८ का १५ वर्षीया सीता ऐडी र वर्ष १८ का पारस ऐडीबीच गत वैशाखमा परम्परागत विवाह भएको थियो । सो विवाहलाई वडाध्यक्ष रोकायाले वडा कार्यालयमा विवाह दर्ता गरी वैधानिक मान्यता दिएको स्थानीय स्वास्थ्य स्वयंसेविका जुना ऐडीले बताउनुभयो । सीता ऐडी श्रीकोट मावि रोडिकोटमा विद्यालय भर्नाअनुसार २०६१ माघ १० गते जन्मिएकी हुन् । यो तथ्याङकअनुसार नाबालिका सीता १४ वर्ष सात महीना मात्र पुगेकी हुन् । नाबालिका ऐडीको विवाह भएको भनी वडा कार्यालयबाट विवाह दर्ताका साथै नागरिकताको सिफारिससमेत वडाध्यक्ष रोकायाले गरिदिनुभएको छ । बालविवाहलाई वैधानिकता दिने काम वडाध्यक्ष रोकायाका निजी खरिदार त्रिमल रोकायाको मिलोमतोमा भएको थाहा भएको छ । दुर्गम जिल्ला हुम्लामा बालविवाह तुरुन्तै अन्त्य गर्न अधिकारकर्मीलाई भने चुनौतीको विषय बन्ने देखिन्छ । हुम्लामा बालविवाहका प्रमुख कारण धार्मिक अन्धविश्वास, परम्परा, कुरीति, अशिक्षा, गरीबी, कुप्रथा, सामाजिक दबाब आदिले हुने गरेको बालअधिकारकर्मीहरुले बताउँदै आएका छन् । अहिले पनि हिन्दू धर्ममा कन्याको विवाह महीनावारी हुनुअगाडि गरेमा स्वर्ग जान पाइने धार्मिक अन्धविश्वासका कारण कम उमेरमा विवाह हुने गरेको पाइन्छ । हुम्लामा नाता मिल्ने कुटुम्बको छोरा जन्मिएमा घाँटीमा पोते लगाएर हात माग्ने चलन कायमै रहेको छ । गरीबीका कारण अहिले पनि छोरीलाई चाँडै विवाह गरी पठाउने र छोरालाई कम उमेरमै बुहारी भित्र्याउने प्रचलन हुम्लाका ग्रामीण बस्तीमा देख्न सकिन्छ । त्यस्तै अशिक्षाका कारण पनि अधिकांश बालबालिका कम उमेरमै विवाह गर्न बाध्य हुन्छन् ।
Categorized in विचार