STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बालबालिकाको मानसिक स्वास्थ्य सेवामा नयाँ आयाम थपिएको दावी

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ पौष २२, बुधबार

कान्ति बाल अस्पतालको ५९ औं वार्षिकोत्सवको अवसरमा आज  एक कार्यक्रम बीच स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले भवनको उद्घाटन गर्नुभएको छ । नेपाल कै सबैभन्दा पहिलो बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटनको क्रमका वक्ताहरुले बालबालिकाको मानसिक स्वास्थ्य समस्या समाधानमा नयाँ आयाम थपेको जिकिर गरेका छन् ।  

कान्ति बाल अस्पतालको प्रांगणमा निर्माण गरिएको बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य केन्द्र भवन, कान्ति बाल अस्पतालसँगको सहकार्यमा सिविन नेपालले निर्माण गरेको हो । फोरुट नर्वे, नर्वेली मनोचिकित्सक संघ र टच आयरल्याण्डको आर्थिक सहयोगमा भवन निर्माण भएको हो । 

उद्घाटनको क्रममा अस्पतालका निर्देशक डा. कृष्ण प्रसाद पौडेलले नयाँ भवन निर्माणले बालबालिकाकाको मानसिक स्वास्थ्य सेवाको क्षेत्रमा अस्पतालले दिंदै आएको सेवा अझ विस्तार हुने बताउनुभयो । साथै उहाँले, बालबालिकाका लागि निर्मित नेपालकै सबैभन्दा पहिलो र ठूलो अस्पताल संचालनमा सरकारको तर्फबाट प्रत्यक्ष आर्थिक र प्राविधिक सहयोगको अपेक्षा रहेको स्पष्ट पार्नु भयो । 

यसैक्रममा, सिविन नेपालका कार्यकारी निर्देशक सुम्निमा तुलाधरले, २०७२ सालको ठूलो भुइचालो पछि बल्ल शुरुभएको बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य विभागले, आफ्नै भवनमा वहिरंग सेवा शुरु गर्न सकेकोले निक्कै उत्साही र गौरवान्वित बनाएको धारणा राख्नु भयो । साथै कोभिड १९ को संक्रमणको अप्ठरयारो परिस्थितिमा विभागका प्रमुख डाक्टर अरुण कुँवरको नेतृत्वमा मुलुकका २५ हजार भन्दा बढी बालबालिका र वयस्कलाई अनलाइन मार्फत तनाव ब्यवस्थापनबारे सेवा दिएको समेत कार्यकारी निर्देशक तुलाधरले जानकारी गराउनुभयो । साथै, सात वटै प्रदेशमा बाल मानसिक स्वास्थ्य सम्बोधनको ब्यवस्थाका लागि सरकारसँग माग समेत गर्नुभयो ।

काठ्माडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बालबालिकाको स्वास्थ्य र नगरबासीको हितका लागि नगरपालिकाले सँधै सहयोग गर्दै आएको स्मरण गर्दै आउने दिनमा पनि नगरबासीको हितको क्षेत्रमा लगानी गर्न तैयार रहेको बताउनुभयो ।

कार्यक्रमका विशेष अतिथि, स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सरकारको मुख्य प्राथमिकता अहिले कोभिड विरुद्धको खोप ल्याउने रहेको बताउँदै स्वास्थ्य क्षेत्रमा संलग्न सेवाकर्मीको उत्साहलाई कायम राख्न तत्पर रहेको उल्लेख गर्नुभयो । 

२०७२ सालको भुइचालो पछि बालबालिकामा परेको मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्ने उद्देश्यले नेपालको एकमात्र सरकारी स्तरबाट संचालित कान्ति बाल अस्पतालमा बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य विभाग खडा गरेर सेवा थालेको थियो । त्यसको पाँच बर्ष पछि अस्पताल परिसरमै विभागको छुट्टै भवन निर्माण गरी बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्य सेवा विस्तार गरिएको हो ।

Categorized in स्वास्थ्य-मौसम