STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बालकुमारीमा अवरोध रहेको जानकारी सुरक्षा निकायले दिएनन् : मन्त्री प्रकाश ज्वाला

Janjati Khabar – Janjati Khabar | २०८० पौष १७, मंगलबार

काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गत शुक्रबार एकीकृत समाजवादी पार्टीको बैठकमा जाने क्रममा ललितपुरको बालकुमारी क्षेत्रको अवरोधबारे सुरक्षानिकायले जानकारी नदिएको दाबी गरेका छन्।

गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्त कुँवरले भौतिक मन्त्रीको सवारीकै कारण उक्त घटना भएको बताइरहेका बेला ज्वालाको यस्तो स्पष्टीकण आएको हो। 

‘बालकुमारीमा सडक अवरोध भएको कुरा सुरक्षा निकायले हामीलाई जानकारी गराएनन्’, उनले सोमबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा भने, ‘बालकुमारी रुट प्रयोग गर्दा त्यहाँ अवरोध भएको जानकारी सुरक्षानिकायबाट नआएकैले गएका थियौँ।’

उनले यसअघि पनि आफ्ना कारण उक्त घटना नभएको स्पष्टीकरण दिएका थिए। समाजवादीको बैठकस्थल कान्तिपुर पार्टी प्यालेसमा पत्रकारसँग बोल्दै शुक्रबार नै उनले आफ्नो बचाउ गरेका थिए। 

मन्त्री ज्वालाको भनाइ जस्ताको तस्तै

यो बालकुमारी घटना आफैँमा आफैँमा दुःखद् घटना हो । दुई जना युवाहरुको ज्यान गएको छ । केही घाइते भएका छन् । र यो नघट्नुपर्ने, नहुनुपर्ने घटना भएको छ । यसमा हामी दुःखी छौँ । यसप्रति म दुःख पनि व्यक्त गर्न चाहन्छु । त्यसदिन हाम्रो पार्टीको केन्द्रीय कमिटी बैठक कान्तिपुर पार्टी प्यालेसमा चलिरहेको थियो । त्यो बैठक दुई दिन अघिदेखि चलिरहेको थियो । अन्तिम दिन बैठक भइरहेको थियो । त्यस बैठकमा म बिहानैदेखि सहभागि थिएँ । अर्कोतिर यता सिंहदरबारमा मन्त्रालयमा एउटा बैठक थियो मेरो । त्यो बैठक शुरु भइसकेपछि केही समयका लागि मन्त्रालयको बैठकमा सहभागि भएर फेरि बैठकमा फर्किने उद्देश्यले म त्यो पार्टी प्यालेस बैठक कक्षबाट बाहिर निस्केँ । बाहिर निस्किनुभन्दा अगाडी बालकुमारी क्षेत्रमा के अवस्था छ ? त्यहाँ डिस्टर्ब छ कि छैन ? अथवा परिस्थिति के छ ? रुटको अवस्था के छ ? त्यो हामीलाई केही पनि थाहा भएन । हामी सामान्य अवस्थामा बाहिर निस्कियौँ । निस्किदाखेरी पनि सुरक्षा निकायबाट, सुरक्षाकर्मीबाट समेत यस विषयमा कुनै जानकारी नभएपछि हामी सामान्य रुपमा बाहिर निस्कियौँ । संयोगले त्यतिबेलै हाम्रै मन्त्रालयको राज्यमन्त्रीज्यूको गाडी भित्र पस्यो । उहाँको गाडी भित्र पस्यो । हामी बाहिर निस्कियौँ । राज्यमन्त्रीज्युको गाडी भित्र पस्दासम्म सामान्य नै अवस्था छ ।

हामी निस्किसकेपछि बीचमा अलिकति अगाडी बढिसकेपछि पारीपट्टी केही डिस्टर्ब हामीले महसुस गर्‍यौं । अब के गर्ने भन्ने त्यहाँ हाम्रो बीचमा छलफल भयो । अगाडि बढ्न पनि नसकिने पछाडी फर्किन पनि नसकिने भएपछि मुख्य बाटोमा हामी प्रवेश गर्‍यौं । मुख्य बाटोमा गइसकेपछि पनि केही व्यक्तिहरू आएर गाडी रोक्ने प्रयास भयो । त्यहाँ पीएसओले सम्झाउने प्रयास गरे । र प्रदर्शनकारीहरू रोक्ने मध्येकै पनि कतिपय व्यक्तिहरूले यो गाडीलाई अगाडी जान दिऊँ भनेर निकै धेरै प्रयास पनि गरे । त्यति हुँदाहुँदै पनि भीड बढ्दै जान थालेपछि म त्यहाँ रहँदा झन उत्तेजित होला भीड भन्ने हिसाबले म त्यो गाडीबाट निस्केर फेरी बैठकस्थलमै फर्किइहालेँ । फर्केपछि म बैठकमा बसेँ । त्यसपछिको अवस्था पनि मलाई जानकारी छैन । त्यहाँ आगलागी भएको कुरा । गोली चलेको कुरा । गोलि चलेको कुरा गाडीमा आगो लाग्नुभन्दा पहिले हो कि पछि हो यो कुरा पछि छानबिनबाट पनि थाहा होला । त्यहाँ गाडी पुग्यो । म केही समय त्यहाँ रोकिएँ । रोकिएपछि त्यहाँको अवस्था तनावपूर्ण हुन्छ कि भन्ने उद्देश्यले आफ्नो बैठक कक्षमा फर्किइहालेँ । फर्किएपछि त्यसपछिको अवस्था के भयो ? कसरी अगाडी बढ्यो ? त्यस विषयमा पनि जानकारी छैन ।

हाम्रो गाडी त्यहाँ पुगिसकेपछि पीएसओले बारम्बार यहाँ गाडी सडकमा छ । प्रदर्शनकारीहरूले घेरिरहेका छन् । छिटोभन्दा छिटो सुरक्षाकर्मी पठाउनुपर्‍यो भनेर उसले कम्युनिकेशन गरिरहेका थिए । त्यति हुँदा पनि करिब २०/२२ मिनेटसम्म पनि त्यहाँ सुरक्षाकर्मी पुगेनन् । त्यसपछि प्रदर्शनकारीहरुले आगो लगाए भन्ने कुरा पछि मैले जानकारी पाएँ ।

यो घटनामा हामी कहीँ कतैबाट पनि जोडिदैनौँ । हाम्रो कुनै सम्बन्ध, साइनो पनि छैन । हाम्रो मन्त्रालयसँग जोडिएको विषय पनि होइन । हामीचाहीँ सामान्य अवस्थामा बैठक कक्षबाट मन्त्रालयमा आउने क्रममा बाटोमा गाडी रोकियो । यो घटना भयो । यस विषयमा हामी प्रष्ट के छौँ भने, न त्यो घटनाभन्दा पहिले हामीलाई जानकारी छ । न हामीलाई रोकिसकेपछिको घटनाको जानकारी छ । हामी यो घटनासँग कुनै पनि हिसावमा जोडिदैनौँ । अब भौतिक पूर्वाधार मन्त्री चढेको गाडी आएकै कारणले यो घटना घट्यो भन्ने कसैले परिभाषा गर्छ भने यो पूर्ण रुपमा गलत कुरा हो । किनकी सडक खुला छ । सडकमा गाडी त चल्छन् । अरु गाडीहरु पनि चलिरहेकै छन् । हाम्रो गाडी पनि चल्यो । त्यहाँ डिस्टर्ब छ भन्नेकुरा जानकारी भएपनि त्यो बाटोमा हामी जादैन थियौँ । त्यो जानकारी पनि भएन । यो घटनासँग हाम्रो कुनै संलग्नता पनि छैन । हाम्रो गाडी त्यो बाटोमा हिँडेकै कारणले यो घटना उत्तेजक बनेको पनि होइन । त्यसभन्दा पहिलेदेखि नै त्यहाँ भीडन्त भएको रहेछ । त्यसपछि पनि भीडन्त भइराख्यो । जहाँ गाडी जलाइयो त्यो ठाउँमा भीडन्त भएको पनि छैन । त्यो ठाउँमा कुनै गोली चलेको पनि छैन । त्यसकारण यो घटनामा हामीलाई जोड्ने अथवा हाम्रो गाडी सडकमा गएको कारणले यो घटना घटेको हो अथवा प्रदर्शनकारी बढी उत्तेजित भएका हुन् भन्नेकुरा गलत छ ।

त्यतिबेला म बैठक कक्षबाट निस्किएँ । त्यसपछि मैले पिएसओ र ड्राइभरलाई हामी सिंहदरबार जाऔँ भने । हामी सबै गाडीमा बस्यौँ । गाडीबाट हिड्यौँ । हिँड्दाहिँड्दै पिएसओले हामी बालकुमारीबाट मन्त्रालय जाँदैछौँ भनेर आफ्नो सेन्ट्रलमा उनले खबर गरिरहेको मैले सुने । त्यतिबेला सम्म पीएसओले वा अरु सुरक्षाकर्मीले कहिँ कतैबाट यो बाटो डिस्टर्ब छ । यो बाटोमा जानु हुँदैन । अथवा अर्को कुनै रुट प्रयोग गरौँ । भन्ने किसिमको जानकारी कहिँ कतैबाट आएन । यो जहाँबाट पनि पुष्टि हुन्छ । त्यहाँ डिस्टर्ब छ भन्दाभन्दै म मुर्खतापूर्वक त्यो बाटो त जाँदैन । बरु हामी त्यो बाटोमा प्रवेश गरिसकेपछि जो डिस्र्टबेन्स् देखियो । त्यसपछि हामी सर्तक भयौँ र अब कसरी सुरक्षित हुने भन्ने किसिमले हामीले प्रयत्न गर्‍यौं । प्रयत्न गर्दागर्दै हामी सफल भएनौँ त्यो एउटा पाटो भयो । तर अहिले मन्त्रीको गाडी आएकै कारणले यो घटना यसरी अगाडि बढ्यो भन्ने कुरा जुन भनिदैछ । यो आफ्नो दोष अरुतिर पन्छाउने खालको प्रयत्न/कसरत हो भन्ने मलाई लाग्छ । त्यसकारण यो घटनाको बारेमा हामी दुःखी छौँ । घटना घट्यो । नघट्नुपर्ने थियो । दुई जना युवाहरुले ज्यान गुमाए । यो एउटा दुःखद् पक्ष हो । तर हाम्रो त कहिँ कतैबाट सम्बन्ध नै छैन यसमा । हामी सामान्य रुपमा त्यो बाटो प्रयोग गरेर मन्त्रालय आउन खोजेको हो । आउने क्रममा अवरोध भयो । अबरोध भएपछि म आफ्नो बैठकतिर फर्किएँ । त्यहाँ गाडी आगलागि भयो । हामी त पीडित पक्ष हौँ । साच्चिकै भन्दाखेरी ।

मान्छेको ज्यान जानेभन्दा गाडी आगलागि हुने कुरा सानो कुरा होला । तर हाम्रो मन्त्रालय त पीडित पक्ष हो । हामी बिना कारण, निर्दोष हुँदाहुँदै, त्यसमा हाम्रो कुनै संलग्नता नहुँदा नहुँदै, कुनै सम्बन्ध नहुँदा नहुँदै हाम्रो त गाडी क्षति भएको छ । सरकारी सम्पत्ति क्षति भएको छ । त्यसकारण पीडित पक्षतिर नै फेरी यो घटनालाई पन्छाएर जो सुरक्षाकर्मीले कमजोरी गरेका छन् । चाहेँ सुरक्षा सम्बन्धी सूचना दिने कुरा होला । चाहे गोलि चलाउने अवस्था थियो कि थिएन त्यस्तो अवस्थामा गोलि चलाइएको कुरा होला । यो तमाम कुरामा आफ्नो कमजोरी कतै ढाकछोप गर्नलाई फरक ढंगले अभिव्यक्ति आउन थाल्यो कि भन्ने कुरामा मलाई अनुभुति हुन थालेको छ । कतिले त्यहाँ किन गएको मन्त्री भन्नेपनि प्रश्न गरेछन् । दुनियाँलाई थाहा छ, तिन दिनदेखि बैठक चलिरहेको छ । केन्द्रिय कमिटी बैठकमा त मन्त्री भएको केन्द्रिय सदस्य पनि जान्छ नि । बैठकमा दिनदिनै गएका छौँ हामी । दिनदिनै बैठकबाट मन्त्रालयमा काममा आएका छौँ । त्यसकारण आउने जाने त तीनदिनदेखि हाम्रो चलिरहेकै छ । यस्ता कुरामा जे सत्य र वास्तविक हो त्यही नै कुरा सबैले गर्नुपर्छ । हाम्रो तर्फबाट सत्य कुराहरु प्रष्ट पारिएको छ । हामी प्रष्ट पार्न तयार छौँ । जुनसुकै हिसावले पनि यो कुरालाई सत्य सावित गर्न हामी सक्षम छौँ ।

Categorized in राष्ट्रिय