STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बाजुराका पर्यटकीय ताल सङ्कटमा

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १७, शुक्रबार

जिल्लाका विभिन्न ठाउँमा अवस्थित धार्मिक र पर्यटकीय महत्वका तालहरु संरक्षणको अभावमा सङ्कटमा परेका छन् । पर्यटकीय ताल छेडेदह र बुढीनन्दासहितका दर्जन बढी तालको अस्तित्व खतरामा परेको छ । पर्यटकलाई मोहनी लगाउने ती तालको संरक्षण र प्रचारमा स्थानीय तहको ध्यान नपुगेपछि जिल्लामा रहेका सुन्दरताको अस्तित्व खतरामा पर्दै गएका छन् । खप्तड छेडेदह गाउँपालिका–७ का स्थानीय गोरख रावतले भन्नुभयो, “तालमा आवश्यक पूर्वाधार निर्माण गर्न विभिन्न निकायसँग समन्वय गरेको भए पनि कतैबाट सहयोग मिलेको छैन ।” यो ताल सुदूरपश्चिम प्रदेशका आकर्षक गन्तव्यमध्येको एक हो, यसको विकासका लागि प्रदेश तथा केन्द्रीय सरकारसँग पटक–पटक माग गरेको भए पनि यसको विकासका लागि कसैले पनि ध्यान नदिएको रावतको भनाइ छ । यो वर्ष गाउँपालिकाले रु पाँच लाख सहयोग गरेको छ । त्यसबाट दुई शौचालय, खानेपानी, वनभोज खानेका लागि भान्सा भाँडाकँुडा र होडिङबोर्ड राख्ने तयारीसमेत भएको गोरख रावतले जानकारी दिनुभयो । पछिल्लो समय विभिन्न विद्यालय तथा कर्मचारीको वनभोज तथा घुम्नका लागि प्रमुख गन्तव्यका रूपमा विकास हुन थालेको भए पनि स्थानीयवासीले यसको विकासमा चासो देखाएका छैनन् । डाँडा रिखखोला सामुदायिक वनको बीचमा रहेको यो तालसम्म सडक सञ्जालसमेत जोडिएको छ । गाउँपालिकाले कुनै निश्चित योजना नबनाउँदा उक्त ताल अहिले गौचरनको रूपमा प्रयोग भइरहेको स्थानीय नरेश सुनारले बताउनुभयो । पहिले जति सुन्दर ताल देखिन्थ्यो, अहिले विस्तारै संरक्षणको अभावमा सङ्कटमा पर्दै गएको छ । पहिले तालमा धेरै पानी जमेको देख्न पाइन्थ्यो भने अहिले विस्तारै तालको मोह घट्दै गएको बताउँछन् बुढीगङ्गा नगरपालिका धुरालसैन माविका प्रधानाध्यापक महासिंह थापा । आफूहरुले विद्यालयको आयोजनामा वनभोज कार्यक्रमको आयोजना गरी ल्याएको भए पनि व्यवस्थित ताल र संरक्षणमा स्थानीय सरकारको ध्यान नगएको भन्दै चिन्ता व्यक्त गर्नुभएकोे छ । जिल्लाका छेडेदह, बुढीनन्दा, त्रिवेणीलगायतका दर्जन बढी तालको अस्तित्व सङ्कटमा परेको स्थानीयवासीको भनाइ छ । तालको संरक्षणमा सम्बन्धित निकायको ध्यान नपुगेकाले तालको अस्तित्व गुम्दै गएको प्रति स्थानीयवासीको गुनासो छ । संरक्षण अभावमा तालमा जङ्गली झारपात र बुट्यानले ढाक्दै गएको पाइएको छ । घरेलु चौपाया र जङ्गली जनावरले फोहर गर्दा खप्तड छेडेदह गाउँपालिकामा रहेको छेडेदह तालको सौन्दर्य विस्तारै घट्दै गएको छ । जिल्लालाई आर्थिकरूपमा माथि उकासी राम्रो आम्दानी दिन पर्यटन विकास र स्थानीय स्रोतको प्रयोग जरुरी भए पनि बाजुरामा भने पर्यटन विकासका लागि कुनै कार्यक्रम नहुँदा जिल्लावासी निराश भएका छन् । जिल्लाका यी ताल अहिले वन्यजन्तुका लागि पानी पिउने र चराचुरुङ्गीको बासस्थानको रुपमा प्रयोग भएको पाइएका छन् । छेडेदह, त्रिवेणी र बुढीनन्दा तालले प्राकृतिक स्वरूप गुमाउँदै गएपछि चराचुरुङ्गीको बासस्थान पनि सङ्कटमा परेको छ ।
Categorized in राष्ट्रिय