STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बागमती प्रदेश प्रमुख शर्माद्वारा नारी दिवसको शुभकामना

Janjati Khabar | २०८० फाल्गुण २५, शुक्रबार

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले आज एक सन्देश जारी गर्नुहुँदै यो दिवसले नारीहरूको सशक्तीकरणमा पाइला अगाडि बढाइराख्न अभिप्रेरित गरोस् भनी शुभकामना दिनुभएको हो । उहाँले सबै नारीको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक तथा विकासका समग्र आयाममा प्रगतिका लागि सम्पूर्णको समान सहभागिता तथा योगदान आवश्यक पर्ने उल्लेख गर्नुभयो । उहाँले जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ, “११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सम्पूर्ण नेपाली नारीहरूमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।” महिलाको हकलाई हाम्रो देशको संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको उल्लेख गर्नुहुँदै उहाँले संवैधानिक व्यवस्थाबमोजिम महिलाका अधिकार राज्यका विभिन्न निकायमा अहिले कार्यान्वयन भइरहेको बताउनुभयो । प्रदेश प्रमुख शर्माले कतिपय अवस्थामा पितृसत्तात्मक सोचका कारण समाजमा महिलामाथि बेलाबखत हुने अन्याय अन्त्य हामी सबैको दायित्वभित्र पर्ने पनि उल्लेख गर्नुभयो । अधिकार खोज्दा कर्तव्य भुल्न हुँदैन–उपसभामुख गण्डकी– गण्डकी प्रदेशका उपसभामुख बीनाकुमारी थापाले हकअधिकार खोज्दा कर्तव्यलाई भुल्न नहुने बताउनुभएको छ । एक सय १४औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सामुदायिक वन उपभोक्ता महासङ्घ पोखरा महानगरद्वारा पोखरामा आयोजित कार्यक्रमको उद्घाटन गर्दै उहाँले प्राप्त महिला अधिकारको भरपुर उपयोग गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । मुलुकको परिवर्तनका लागि भएका प्रत्येक आन्दोलनमा महिलाको महत्वपूर्ण सहभागिता रहेको उल्लेख गर्दै उहाँले अबका महिला थप अधिकारका लागि सङ्गठित भएर लाग्नुपर्नेमा जोड दिनुभयो । वनको संरक्षणले जीवात्माका लागि प्राणवायु भएको बताउँदै उपप्रमुख थापाले प्राकृतिक स्रोतलाई समृद्धिसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो । संविधान परिवर्तनशील हुने बताउँदै आवश्यकताअनुसार परिमार्जन गरिने उहाँको भनाइ थियो । जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख तथा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका केन्द्रीय सदस्य सरिता कुमालले लैङ्गिक समानताका लागि महिला सशक्तीकरणको खाँचो आँैल्याउनुभयो । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका केन्द्रीय सदस्य हरि बास्तोला, दोवबहादुर कार्की र प्रदेश अध्यक्ष कालिदास सुवेदीले सामुदायिक वन समूहले महिला नेतृत्व विकासमा उल्लेखनीय भूमिका खेल्दै आएको बताउँदै महिला दिवस विकट बस्ती एवं श्रमिक महिलासम्म पुग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा महासङ्घका वडास्तरीय कमिटीका पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको सपथ गराइएको थियो । सो अवसरमा विभिन्न वडाका एक सय २८ जनाले सपथ लिएका थिए । पोखरा महानगर वन महासङ्घका अध्यक्ष कमलकुमार भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला महासङ्घका अध्यक्ष विश्वनाथ लामिछाने, डिभिजन वन कार्यालय कास्कीका प्रमुख कोमल रेग्मी, जमुना सुवेदी, सीता सापकोटालगायतले महिला दिवसको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।

 

Categorized in राष्ट्रिय